त्रिविका परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग


९ चैत्र २०७९, बिहीबार
Tribhunvan University TU

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का परीक्षा केन्द्र टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् ।

नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंह र नेकपा (एस) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरुपमा तथा नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई पायकपर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ’, तीन विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै अनेरास्ववियुका अध्यक्ष बडालले पनि विद्यार्थीलाई दुःख दिने अभिप्रायले परीक्षा केन्द्र धेरै टाढा राखिएकाले पायक पर्ने क्याम्पसमा परीक्षा केन्द्र राख्न माग गरेका छन् । परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७