साढे चार वर्षमा गाउँपालिका अध्यक्षको ९१ लाख स्रोत नखुलेको सम्पत्ति

अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर


९ चैत्र २०७९, बिहीबार
keshavnanda

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन अध्यक्ष केशवनन्द बनियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनियाले ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गएको २०७४ असार १४ गतेको स्थानीय निर्वाचनबाट निर्वाचित भइ गाउँपालिकाको अध्यक्ष पदमा २०७४/३/२१ देखि २०७९/१/९ सम्म पदमा रहेका थिए । सार्वजनिक पद धारण गरेको सो अवधिमा स्वआर्जित तथा सिर्जित सम्पत्ति एवं लगानी तथा खर्चहरुबारे अनुसन्धान गर्दा ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।

आयोगका छोरा पंकज कान्दु समेतलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई उनको नाममा हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो जफत र जरिवाना असुल गरी पाउन मागदाबी लिई आरोपपत्र दायर गरेको हो । १४ असार २०७४ मा पालिका अध्यक्षमा निर्वाचित भएका बनियाँ ९ वेशाख २०७९ सम्म पदमा थिए ।

अख्तियारले २१ असार २०७४ देखि ३० फागुन २०७८ सम्मको अवधिको सम्पत्ति जाँचबुझ गरेको थियो, जसमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए वापत प्राप्त रकम, राइस मिलको आय गरेर ८४ लाख १९ हजार ४५१ रुपैयाँ ०६ पैसा आम्दानी गरेको पाइएको छ ।

यही अवधिमा उनको खर्च र लगानी भने १ करोड ७५ लाख ९६ हजार ९९४ रुपैयाँ ३६ पैसा पाइएको अख्तियारले जनाएको छ । यसमा छोराहरुको अध्ययनमा गरेको खर्चदेखि घर निर्माण खर्च, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दात समेत समावेश छ । बानियाँको वैधानिक आयभन्दा बढी देखिएको ९१ लाख ८६ हजार ५४३ रुपैयाँ ३० पैसा बराबर रकमको स्रोत नखुलेको अख्तियारले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७