गण्डकी सरकारको समर्थन फिर्ता लिँदै माओवादी


१० चैत्र २०७९, शुक्रबार
Khagaraj hari chuman gandaki

पोखरा । गण्डकीमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुलाई गण्डकी प्रदेश सरकारबाट बाहिरिन निर्देशन दिइसकेका छन् ।

अध्यक्षको निर्देशनअनुसार आज (शुक्रबार) बिहान संसदीय दलको बैठक बसेर सरकार छोड्ने निर्णय गरिने माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् । गण्डकीमा चुमानको नेतृत्वमा माओवादी केन्द्र गत पुस २५ गते नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको थियो ।
‘निर्देशन आइसक्यो, अब सरकारमा बसिरहने कुरा भएन । आज दलको बैठक बसेर बाहिरिन्छौँ’, चुमानले भने । उनका अनुसार संसदीय दलले मन्त्रीको राजीनामा बुझाउने निर्णय गर्नेछ ।

वर्तमान सरकारमा माओवादीबाट चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । माओवादीले सरकार छोडेपछि मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा पर्नेछन् । संविधानअनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

नयाँ सत्ता गठबन्धनबाट गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दाबी गरिरहेका छन् । राजधानीमा रहेका शुक्रबार नै पोखरा फर्किने र माओवादीसँग मन्त्रालयको भागबण्डाको बारेमा छलफल गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७