महोत्तरीबाट हिंडेरै काठमाडौं आएका मिटरब्याजी पीडितको समस्या हल गर्न सरकार तयार


१० चैत्र २०७९, शुक्रबार
mitar byaj

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलनरत किसानको समस्या समाधान गर्न सरकारले पहल थालेको छ ।
महोत्तरीको बर्दिवासदेखि काठमाडौँसम्मको यात्रामा निस्किएका मिटरब्याजी पीडित किसानका समस्या समाधान गर्न तथा घर फर्किन गृह सचिवमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सोही निर्देशन बमोजिम मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले किसानसँग छलफल गरी सरकार कानुन बनाउने काममा लागेको र मिटरब्याजीविरुद्ध सरकारले मुद्दा समेत चलाइरहेको उल्लेख गरे ।

घर फर्किन आवश्यक सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरेका छन् । प्रजिअ पाण्डेसँगको छलफलमा पीडित किसानले आफूहरु एउटा अभियानमा भएको र कानुन नबन्दासम्म नफर्कने बताए । किसानले सो अवसरमा काठमाडौँसम्मको यात्राका लागि आफूहरुलाई चिसो हुने र कम्बलको व्यवस्था गर्न तथा सवारी साधनको प्रबन्ध मिलाउन आग्रह गरेका थिए । प्रजिअ पाण्डेले किसानलाई कम्बलको व्यवस्था गरेका छन् ।

पीडित किसानको समस्या समाधान गर्न गृह मन्त्रालयले कानुन बनाउनका निम्ति मस्यौदा बनाएर कानुन मन्त्रालयमा पठाइसकेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक शर्माले बताए । सरकारले तीन सय ५० मिटरब्याजीलाई कारबाही गरिसकेको छ ।

‘आज मात्रै प्रधानमन्त्रीले कानुन सचिवलाई कानुनलाई प्रस्तावको रुपमा आज अपराह्न बस्ने मन्त्रिपरिषदमा ल्याउन र संसदमा दर्ता गर्न भनिसक्नुभएको छ । चाँडै नै त्यो कानुन संसदमा दर्ता हुन्छ । प्रधानमन्त्री मिटरब्याजी पीडित किसानको समस्या समाधान गर्न गम्भीर हुनुहुन्छ’, प्रेस संयोजक शर्माले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७