आईजीपी नियुक्तीको लागि मन्त्रिपरिषद् बैठक बस्दै


१० चैत्र २०७९, शुक्रबार
IGP 1

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक आज अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।

नेपाल सरकारको निर्णयानुसार प्रहरी नायब महानिरीक्षक (डीआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्ने छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति भएका थिए । हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।

त्यसपछि रिक्त हुने आइजीपी पदमा हाल पदोन्नति भएका एआइजीबाटै बढुवा भएका पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दैछन् ।

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफूमुनिकालाई प्रोत्साहन गर्न सक्ने व्यक्तिलाई आइजीपी बनाउन सक्ने उल्लेख छ । यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह अवकाश हुँदा उनीसँगै तीन एआइजी पनि अनिवार्य अवकासमा जाँदैछन् । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानेछन् ।

हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ ।

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डीआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्ता समेत रहेका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यावधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहने छ । यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्काे आलोचना समेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउँछन् । गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति भएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७