डेटलाइन पक्लिहवा : पतिया गर्नलाई अब फर्किने छैनन् लाहुरेहरु

गोरखालीहरूलाई पतियाको नाममा कसरी हिन्दूकरण गरियो ? स्थलगत रिपोर्ट :
२२ साउन २०७० । गौतम बुद्धको जन्मस्थल लुम्बिनी । बिहानै देखि गुल्जार थियो । देशविदेशबाट आएका दर्शनार्थीहरूको भीड । यसैगरी कुनैबेला गुलाजर हुने ३० किलोमिटर पश्चिमको पक्लिहवा बजार भने सुनसान थियो । चर्को घाम भएर होला, घर बाहिर कोही देखिन्नथे । ढुङ्ग्री मुन्द्री फुकालेर बसेको लिम्बूनी बज्यै जस्तै उराठ लाग्दो थियो, शहरको अनुहार ।
कुनै बेला यो बजार गुल्जार थियो । ३० किलोमिटर परको लुम्बिनीले संसारभरका शान्तिका अनुनायीहरूलाई स्वागत गरिरहेको हुन्थ्यो भने त्यसरी नै यता पक्लिहवाले संसारलाई थर्काएर आएका गोरखा योद्धाहरूलाई स्वागत गर्दथ्यो । ‘दुश्मन’को लास माथि हिँडेका सयौं खुट्टाहरूले दैनिक टेक्थे पक्लिहवा बजारलाई । लुम्बिनीमा विहारहरु थिए । पक्लिहवामा थकाली साहुनीका भट्टीपसलहरू ।
समय फेरियो । लुम्बिनीमा विभिन्न देशले विहारहरु थप्दै जाने थाले । तीर्थालुहरू बढ्दै जान थाले, तर पक्लिहवामा भट्टी पसलका मालिक मालक्निहरु बजारलाई नै निस्तो पारेर लाखापाखा छरपस्ट भए । अहिले रेल चढेर लाहुरेहरू पक्लिहवामा आउँदैनन् । यस कारण पक्लिहवामा भट्टीहरू पनि छैनन्, र छैनन्; लाहुरे पर्खेर बस्ने भट्टीवाल्नीहरुका मुस्कानहरु पनि ।

नयाँ बजार पुगेपछि साइकल डो-याउँदै हिँडिरहेका अधबैंसे पुरुष भेटिए । सोधेँ, ‘पुरानो ब्रिटिस क्याम्प कता पर्छ ?’ ‘क्पाम्प रे !’ उनले मलाई प्रतिप्रश्न गरे, ‘कृषि कलेज भएको ठाउँ हो ?’ उनलाई ब्रिटिस क्यापको बारेमा उतिधेरै जानकारी रहनेछ । मैले ‘हो’ भनेपछि उनले बाटो देखाइदिए । उनको नाम हेरेन्द्र यादव । मैले थप कुरा गर्न चाहेँ, तर किन हो कुन्नि उनी पन्छिन खोजे । भने, ‘मलाई त हतार छ हजुर ।’ उनको व्यस्ततालाई सलाम गर्दै हामी पुरानो ब्रिटिस क्याम्पको खोजीमा लाग्यौं ।
त्यहाँसम्म पुग्नुको उद्देश्य थियो, ‘पतिया र हिन्दूकरणको बारेमा बुझ्ने ।’ पतिया अर्थात् पल्टनबाट घर फर्केका लाहुरेहरूले सात दिनसम्म हरेक विहान गाईको गहुँत खाएर चोखिनु पर्ने चलन । सात दिनसम्म गाईको गहुँत खाएपछि उनीहरू घर जान लायक मानिन्थे । हामी जान्न चाहन्थ्यौं, ‘पक्लिहवाको कहाँनिर हुन्थ्यो पतिया ?, कसरी गराइन्थ्यो पतिया ?’ हामी हेर्न चाहन्थ्यौं, ‘पतिया गराउँने ठाउँ ? पतिया गरेपछि लाहुरेहरूले पूजा गर्नुपर्ने भगवानहरू ?’
०००
पक्लिहवा ब्रिटिस क्याप अगाडि अहिले बन्दुक तेस्र्याएर कुनै सैनिक बसेका छैनन् । ‘ब्रिटिस गोरखा क्याम’ लेखिएको बोर्ड मेटिइसकेको छ । त्यसै बोर्डमा अहिले लेखिएको छ, ‘त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थान ।’ गोरा मेजरहरूको मेस भवन (जहाँ अहिले कलेज प्रशासन छ) अगाडि भेटिए ल्याब टेक्निसियन धनबहादुर राना मगर, जो ०३५ साल देखि यही कार्यरत छन् । उनका बुबा पनि लाहुरे नै हुन् ।
उनका बुबाले पेन्सन पछि लामो समय कुकको रुपमा पक्लिहवा क्याम्पसमा काम गरेका थिए । धनबहादुर क्याम्प अघिको नयाँ बजारमा जन्मिए । यही क्याम्पमा हुर्के बढे । क्याम्पमै नोकरी गरे । पछि क्याम्प स-यो । कलेज स्थापना भयो । क्याम्पसमा कार्यरत केही कर्मचारीहरूले कलेजमा नोकरी पाए । ती मध्ये एक भाग्यमानी उनी पनि थिए ।

हाम्रो कामको उद्देश्य बताएपछि उनी खुशी भएर क्याम्प घुमाइदिन राजी भए । गेसो आन्दोलनको बारेमा उनलाई पनि धेरथोर थाहा रहेछ । सायद, उनी पनि हामीलाई सहयोग गरेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउन चहान्थे । उनी भन्दै थिए, ‘यो त राम्रो काम हो ।’ कुन भवनमा गोरा मेजरहरू बस्थे ? कुन ब्लकमा गोरखा मेजरहरू बस्थे ? उनीहरू कहाँ रक्सी खान्थ्थे ? मुक्लीसे लाहुरेहरू कहाँ बस्थे ? विवाहिताहरू कहाँ बस्थे ? सबै भवनहरू पालैपालो देखाउँदै थिए धनबहादुर ।
अहिले धेरै भौतिक संरचनाहरू भत्किसकेका छन्, तर मन्दिर भने उस्तै । उतिबेलाको शिव मन्दिर उस्तै छ । शिव लिङ्ग पनि उस्तै । धनबहादुर बताउँदै थिए, ‘यही हो लाहुरेहरूलाई पण्डितले पूजा गर्न लगाउने मन्दिर ।’ त्यही मन्दिरमा बसेर लाहुरेहरूले गहुँत खाएर चोखो हुनुपथ्र्यो, र पण्डितले सिकाएको पाठ पढ्नुपथ्र्यो । त्यहीबाट एउटा जनजातिको ठिटो हिन्दू धर्मको असल अनुनायी बनेर आफ्नो गाउँतिर जाने बाटो लाग्थ्यो ।
छुट्टी वा अवकाशमा घर फिर्दा त्यही मन्दिरमा हिन्दू विधिअनुसार ब्राह्मण पण्डितको निगरानीमा सात दिनसम्म गाईको गहुँत र एक छाक मात्र खाना खाएर पतिया गर्नुपथ्र्यो । यो गैरहिन्दू मंगोल नश्लका लाहुरेहरूलाई हिन्दू धार्मिक सत्तासँग आत्मसमर्पण गराइने केन्द्र थियो । भर्ती हुनुभन्दा पहिलेको मौलिक धर्म–संस्कृति भएको गैरहिन्दू व्यक्ति पूरै हिन्दू भएर घर आइपुग्थ्यो । हिन्दूकरणको सांस्कृतिक कारखाना थियो यो मन्दिर ।
यसरी गरिन्थ्यो हिन्दूकरण
२११५०६१२ आर्मी नम्बरका गुल्मीका तिलबहादुर थापाले अवकास पछि पक्लिहवा क्याम्पमा करिव ३ वर्ष कुक सार्जेन्टको रुपमा काम गरे । उनको काम थियो, ‘मिठो पकाउन लगाएर गोरा साबहरूलाई खुसी पार्ने ।’ उनी सन् १९४२ मा ब्रिटिस सेनामा भर्ती भएर १९५८ मा सार्जेन्ट पदमा अवकाश पाए । उनले पक्लिहवाको नयाँ बजारमा घरजाम गरे । उनले सन् १९६९ देखि १९७१ सम्म पक्लिहवा क्याम्पसमा पनि काम गरे ।

पतियाका उनी साक्षी हुन् । नयाँ बजार उनको घर नजिक पुग्दा तिलबहादुर साइकल चढेर विद्यालय व्यवस्थापन समितिको बैठकमा जाने तयारीमा थिए । साइकलको पाइडललाई लात्ती हान्न लाग्दा रोकेर सोधियो, ‘कसरी गराइन्थ्यो पतिया ?’ ‘त्यही बरको फेदमा (जहाँ शिव लिङ्ग छ) मन्दिरमा हरेक बिहान पूजा हुन्थ्यो’ उनले साइकलमै अडिएर सुनाए, ‘पण्डितले हिन्दू धर्म संस्कार अनुसार पूजा पाठ गराएर गाईको गहुँत सात दिनसम खुवाउँथ्यो । बिहान गहुँत खाएपछि लाहुरेहरू बाहिर निस्किन पाउँथे ।’ पतिया सिपाहीदेखि गोरखा मेजरसम्मलाई अनिवार्य थियो । उनका अनुसार सातदिनसम्म पतिया गरेपछि पण्डितहरूले सानो कागजमा चिठ जस्तो लेखीदिन्थ्यो ।
त्यसमा लेखिएको हुन्थ्यो,‘यो मान्छे चोखो भएको छ, कुनै पनि प्रकारको भेदभाव नगर्नु होला ।’ त्यसो त तिलबहादुरलाई पनि ती दृश्यहरू सम्झदा रिस उठ्दो रहेछ । उनले भने,‘हामीले कुनै ठुलो अपराध गरेजस्तो गाईको मुत खानुपर्ने । अनि मात्रै हामी गाउँ जानका लायि लायक हुन्थ्यो । पण्डितले चिठमा लेखी पठाएको शब्दले पनि हामीलाई अन्याय र अपमान गरेको थियो ।’ कुनै अपराधीले जस्तो चिठ देखाएर गाउँमा हिड्नपर्ने बाध्यता थियो ।

पक्लिहवामा पण्डित बस्ने घर अझै उस्तै छ । पण्डितका लागि बेग्लै ब्लक बनाईएको थियो । उनीहरूलाई बस्नका लागि पनि बिशेष व्याबस्था गरिएको हुन्थ्यो । मानौकी उनीहरू भगवान हुन् । गैरहिन्दू लाहुरेहरूले सात दिनसम्म पतिया गरेर हिन्दू धर्मको बारेमा प्रशिक्षण त लिन्नै पथ्र्यो । त्यती मात्रै होईन पल्टनमा समेत हिन्दू पण्डित राखेर हिन्दू संस्कार सिकाईन्थ्यो । लाहुरेहरूलाई पल्टनमा बन्दुकसँग जीवन बिताउँने कलासँगै हिन्दू भएर कसरी जीवन बिताउँने ? यो बारेमा पनि प्रशस्त प्रशिक्षण हुन्थ्यो । दसै वा अन्य हिन्दूधर्मसँग सम्बन्धीत सबै चाडबाढहरूमा हिन्दू धर्मको अनुशरण गर्न बाध्य थिए लाहुरेहरू ।
धर्मको हिसाबले आदिवासी जनजातिहरू हिन्दू होईनन् । ब्रिटिस सेनामा भर्ती हुने यी मंगोल नश्लका जातिहरूका सबै आ–आफ्नै धर्म र संस्कार छन् । यो बिषयमा दुबै देशका शासकहरू जानकार थिए र छन् । यी जातिहरूलाई सेनामा भर्ना सुरु गराउन अघि उनीहरूको सबै बिषयको बारेमा अध्यान गरिएको स्वयम् ब्रिटिस समाजशास्त्रीेले बताएका छन् । गोरखाहरू हिन्दू होईनन् भनेर थाहा हुँदा हुँदै किन यसरी हिन्दूकरण गरियो ? ‘अग्रेज र ब्रिटिस शासककहरूले मंगोल नश्लका जातिलाई सिध्याउँने षड्यन्त्रका साथ यो गरिएको हो’ गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङ भन्छन्,‘कुनै पनि जातिलाई सिध्याउँनु छ भने उनीहरूको धर्म र संस्कार सिध्याउनुपर्छ । आदिवासी जनजातिहरूलाई बरबाद पार्ने उद्देश्यका साथ पतिया गरिएको हो ।’
यी सबै तथ्यहरूबाट प्रष्ट थाहा हुन्छ, की गोरखा भर्ती लडाकु निर्माण गर्ने भर्तीकेन्द्र मात्र होइन, हिन्दूकरण गर्ने सांस्कृतिक कारखाना पनि हो । पक्लिहवा र धरान ब्रिटिस क्याम्पबाट हजारौ हजार जनजातिका ठिटोहरूलाई हिन्दू धर्मको प्रशिक्षण दिएर असल कायकर्ता निर्माण गरियो । ब्रिटिस सरकार र राणा तथा शाह वंशका नेपाली हिन्दू शासकहरूले गोरखा भर्तीलाई मंगोल नश्लका समुदायलाई हिन्दूकरण गर्ने सशस्त्र कारखाना बनाएका हुन् । वर्षौंदेखि प्रत्येक गोरखा पल्टनमा हिन्दू ब्राह्मण पण्डित राखेर उनीहरूलाई संस्कार–संस्कृतिका हिसाबले हिन्दूकरण गरियो ।
सांस्कृतिक रुपमा हिन्दू, आर्थिक रुपमा भिखारी
पक्लिहवा क्याम्प नजिककैको झन्डीबजार । अहिले यहाँ पक्की घरहरू बनीसकेका छन् । उतिबेला यहाँ स–साना झुप्राहरू थिए । प्रत्येक झुप्रामा रक्सी भट्टी हुन्थ्थो । हरेक झुप्राका साहुनीहरू लाहुरेको प्रतिक्षामा हुन्थ्ये । रक्सी र मासु त हुन्थ्यो नै, साथमा लाहुरेहरूले चाहे साहुनीहरू आफै पनि हाजिर हुन्थ्यो । उनीहरू शरीर नै सुम्पीन तयार हुन्थ्यो । अर्मी नम्बर २११४३१४४ ६ गोरखा राईफलका कलर सार्जेन्ट डम्बर मल्ल भन्छन्,‘साहुनीहरू लाहुरेलाई पासो थापेर बसेका हुन्थ्यो, उनीहरूको पासोमा नपर्ने लाहुरे कमै हुन्थ्यो ।’

लामो समय पल्टनमा बसेर आएका लाहुरेहरू बिहान पतिया गरेपछि फुक्काफाल । फौजी जीवन भित्रको कडा अनुसासनबाट केही समय पनि छुटकारा पाएका लाहुरेहरू बधुवा जनवार केही समयलाई छोडी दिए जस्तै हुन्थ्यो । हिजोआज साँझ पख काठमाडौ ठमेलमा तरुनीहरूले ईशारा गरे जसरी झण्डीबजारका साहुनीहरूले ईशारा गथ्र्यो ।
अपवाद बाहेक अधिकांस लाहुरेहरूलाई झण्डीबजारका साहुनीहरूले फन्दामा पारीहाल्थ्यो । ‘साहुनीहरूले सुरुमा जीस्काउँदै रक्सी दिएर बेहोस जस्तै बनाईदिन्थ्यो, आबश्यकता अनुसार शरीर पनि सुम्पी दिन्थ्यो’ लामो समय पक्लिहवा बसेर हाल वुटवलमा बसीरहेका ८९ बर्षिय कलर सार्जेन्ट शिवहादुर मल्ल भन्छन्,‘सात दिनसम्म यसो भएपछि लाहुरे भिखारी भईसकेको हुन्थ्यो । उल्टै त्यही साहुनीलाई खर्च मागेर घर फर्किन्नु पथ्र्यो ।’ त्यसो त लाहुरेहरू भट्टी पसलमा जाने बित्तिकै साहुनीहरू सिधै सोध्थे, ‘भुटेको मासु मात्रै खान हो की काँचो पनि हो ?’
सात दिनसम्म पतिया गर्दा एक जना लाहुरे धार्मिक रुपमा एक असल हिन्दू भईसक्थ्यो । उता झण्डीबजारको साहुनीहरूको मांसारी प्रेममा परेर आर्थिक रुपमा करिब करिब कंगाल भईसक्थ्यो । शिवबहादुर भन्छन्, ‘कति लाहुरेहरूले त यहाँका भट्टीवाली साहुनीहरूलाई बाटो खर्च मागेर घर गएको मैले नै देखेको हुँ ।’ शासकहरू बनाईएको संरचना पनि बढो गजब कै थियो, की सात दिनसम्म चोखो हुने नाममा हिन्दू धर्मको प्रशिक्षण लिनुपर्ने ।
त्यो क्रममा लाहुरेहरूले बोकेर ल्याएको पैसा सिध्याउँनको लागि आबश्यक वाताबरण र संरचना पनि त्यही बनाईएको थियो । गोरखा सैनिकहरूलाई सबै हिसाबले सिध्याउँनका लागि यस्तो बनि बनाउँ संरचना तयार गरिएको गेसो सभापति पदमबहादुर गुरुङको दाबी छ । भन्छन्, ‘धार्मिक रुपमा हामीलाई हिन्दू बनाईयो, आर्थिक रुपमा कंगाल बनाउँन पनि त्यही अनुसारको वाताबरण र संरचना बनाईयो ।’ पक्लिहवाको नयाँ बजार, झन्डीबजारका पुराना मान्छेहरूको भनाईले गेसो सभापतिको दाबीलाई प्रमाणित गर्छ ।
लाहुरे : हिन्दू धर्मको असल प्रचारक

पहाडी भेगका मंगोल नश्लका जातिहरू हिन्दू थिएनन् । तर, हिन्दू धर्मको प्रचारमा सबैभन्दा बलियो भुमिका उनीहरूकै रह्यो । त्यसो त लाहुरेहरू आर्थिक रुपमा अरु भन्दा सवल नै हुन्थ्यो । पल्टनमा शिव पार्वती, भगवती देबीको बेस्सरी पूजा पाठ गरेर फर्किएका लाहुरेहरूले नै गाउँ गाउँमा पक्की मन्दिर बनाईदिए । गाउँमा भएका देवी दौराली भएको ठाउँमा पक्की मन्दिर बनाईदिए लाहुरेले नै । गाउँमा दशै लगायतका चाड बाढ धुमधामका साथ मनाउँन सिकाए लाहुरेले नै ।
अहिले पनि पूर्व पश्चिमा बिभिन्न आदिवासी बस्तीमा बनेका मन्दिरहरूका निर्माता धेरै जसो लाहुरे नै छन् । एउटा जनजाति ठिटो लाहुरबाट फर्किदा असल हिन्दू प्रचारक पनि बनेर फर्किन्थ्यो । किन बने त उनीहरू हिन्दू धर्मको प्रचारक ? ‘दुबै देशका शासक मिलेर उनीहरूको दिमागमा यही कुरा भरीदिए’ गेसोका संस्थापक सभापति गुरुङ भन्छन् ,‘यसो हुनुमा कुनै लाहुरे पात्रको दोस होईन व्याबस्था बनाउँने तत्कालिन शासकहरू दोसी हुन् ।’

धरान र पोखराबाट ब्रिटिस क्याम्प सरेपछि पतिया रोकिएको छ । तर, अझै पनि पल्टनमा हिन्दू पण्डित लाने परम्परा कायमै छ । अझै पनि पण्डितहरूले पल्टनमा गएर आदिवासी जनजातिहरूलाई हिन्दू धर्मको बारेमा प्रशिक्षण दिईनै रहेको छ । नेपाल धर्म निरपेक्ष मुलुक घोषणा भईसकेको अवस्थामा पनि यो परम्परा कामय रहनु दुःखत बिषय हो । गोरखा भर्तीलाई अहिलेसम्म यसरी हिन्दूकरणको कारखाना बनाईराख्नु मिल्छ ? गैरहिन्दू मंगोल नश्लका लाहुरेहरूले हिन्दू धार्मिक सत्तासँग कहिलेसम्म आत्मसमर्पण गरीरहने ?