सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी, ८ मन्त्रालयमा कांग्रेसको दाबी


११ चैत्र २०७९, शनिबार
10 dal baluwatar

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज बसेको पार्टी पदाधिकारी बैठकले सरकार विस्तारलगायतका विषयमा छलफल गरेको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

गृहकार्यका कारण केही दिन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि प्रधानमन्त्रीले सत्ता साझेदार दलसँग छुट्टाछुट्टै ढङ्गले छलफल गरीरहेको बताए ।

मन्त्रिपरिषद् विस्तारको लागि आइतबार प्रस्ताव तयार हुने सोमबार विस्तार हुने उनले बताए । भने, ‘सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने कुरा छ ।’

प्रधानमन्त्रीले सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ सरकार विस्तार गर्ने तयारीसमेत गरेको सचिव पौडेलको भनाइ छ । सरकार विस्तारमा विलम्ब हुँदा जनअपेक्षालाई सम्बोधन गर्न नसकिएको ठहर गर्दै शीघ्र निष्कर्षमा पु-याउने माओवादीले विश्वास लिएको छ ।

यस्तै सङ्घीय संसद्को कामलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठकमा छलफल भएको थियो । गठबन्धनमा आबद्ध पार्टी र सांसदसँग छलफल गरेर महत्वपूर्ण विधेयकलाई अगाडि बढाउने तथा सत्य निरुपण तथा मेलमिलाप आयोगलगायतका महत्वपूर्ण कानुन निर्माणमा जुट्ने गरी आजको बैठक केन्द्रित रहेको उहाँको भनाइ छ । त्यस्तै बैठकमा सरकार र पार्टीको अन्तरसम्बन्धमा बारेमा छलफल भएको थियो ।

सरकार र पार्टी एकअर्काका परिपूरक भएकाले पनि सरकारको काम कारबाही पार्टी र जनतासँग कसरी जोड्न सकिन्छ भन्नेमा बैठक केन्द्रित रहेको सचिव पौडेलको भनाइ छ । यस्तै प्रदेश सरकारलाई समेत सङ्घीय सरकारको नीति तथा कार्यक्रम र बजेटसँग जोडेर एकमुष्टरूपमा जनतालाई राहत दिने गरी जानुपर्ने माओवादीको निष्कर्ष छ ।

८ मन्त्रालयमा कांग्रेसको दाबी
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नयाँ मन्त्रिपरिषद्मा कांग्रेसको तर्फबाट ८ वटा मन्त्रालय दाबी रहेको पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकमाउपसभापति खड्काले ८ मन्त्रालयमा दाबी रहेको बताए ।

गठबन्धन दलमा कांग्रेसलाई ७ मन्त्रालय दिनेबारे छलफल चलेपनि पार्टीले ८ मन्त्रालयमा दाबी गरेको उनको ब्रिफिङ थियो । ‘गठबन्धनभित्रबाट ७ वटा मन्त्रालय मात्र दिन सकिनेगरी कुरा आएको छ । तर, हामीले ८ वटा नै मन्त्रालय चाहिन्छ भनेर दाबी गरेका छौं,’ बैठकमा खड्काले भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७