वेस्ट इण्डिजसँग घरेलु टोली दक्षिण अफ्रिका पराजित

काठमाडौँ । दक्षिण अफ्रिकासँगको पहिलो टी–२० क्रिकेटमा वेस्ट इण्डिज विजयी भएको छ । घरेलु टोली दक्षिण अफ्रिका तीन विकेटले पराजित भयो । योसँगै तीन खेलको टी–२० शृङ्खलामा पाहुना टोली वेस्ट इण्डिजले १–० को अग्रता बनाएको छ । जितका लागि १३२ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले १० ओभर ३ बलमा ७ विकेट गुमाउँदै भेट्टायो ।
वर्षाको कारण खेल ढिलो सुरु हुँदा ११ ओभरमा झारिएको थियो । वेस्ट इण्डिजका कप्तान रोभम्यान पावेल ४३ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ३ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
तबरेज शम्सी र एनरिच नोर्कियाले एक÷एक विकेट लिए । त्यसअघि सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ११ ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका डेबिड मिलर सर्वाधिक ४८ रनमा आउट भए । वेस्ट इण्डिजका शेल्डन कटरेल र ओडेन स्मिथले समान २ विकेट लिए । दुई देशबीचको दोस्रो खेल आज र तेस्रो तथा अन्तिम खेल मङ्गलवार हुनेछ ।