ब्रिटिस गोर्खा सैन्य रक्ष राईको ‘युद्ध सौन्दर्य चिन्तन’माथि विमर्श


१२ चैत्र २०७९, आईतवार
Gurkha Biritsh

काठमाडौँ : कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्त र नवचेतनाग्रहका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन तथा चिन्तनमा आधारित अर्को बृहत् अनुसन्धानमूलक कृति प्रकाशनमा ल्याएका छन् । चिन्तक राईको उक्त कृतिमाथि शनिबार काठमाडौँमा विशेष कृति–विमर्श कार्यक्रम आयोजना गरियो ।

प्रसिद्ध साहित्यकार तथा समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले ‘युद्ध सौन्दर्य चिन्तन’ विशिष्ट र महत्वपूर्ण ग्रन्थका रूपमा आएको बताए । उनले लेखक राईले युद्धलाई सकारात्मक दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै नेपाली सेनाका सबै कार्यालयका पुस्तकालयमा ‘युद्ध सौन्दर्य चिन्तन’ राखिनुपर्ने विचार व्यक्त गरे ।

यसै गरी प्रा.डा. विष्ण एस राईले अहिलेसम्म नेपाली वाङ्मयमा यसप्रकारको कृति नआएको उल्लेख गर्दैै कृतिकार राईले नयाँ र महत्वपूर्ण काम गरेको बताए । उनले भने– “अनुसन्धानमूलक यो कृति पिएचडीका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ । यसमा पिएचडी गरिनुपर्छ । पिएचडी गर्नका लागि चाहिने सबै कुराहरू यस कृतिभित्र छन् । विषय नयाँ र महत्वपूर्ण छ ।”

संस्कृतिविद् डा. भक्त राईले चिन्तक रक्ष राईको यस ग्रन्थमा दर्शन पाइने बताए । उनले युद्ध विध्वंश मात्रै नभएर सृजना पनि भएको विचार व्यक्त गरे । उनले नेपाली वाङ्मयका क्षेत्रमा राईको ग्रन्थ ठुलो उपलब्धि भएको बताए ।

नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी सुरक्षाविद् सुरेश शर्माले युद्ध कुरुप मात्रै नभएर सुन्दर पनि हुन्छ भन्ने कुरा ग्रन्थले बोलेको बताए । उनले नेपाली वाङ्मय यसप्रकारको पुस्तक अहिलेसम्म आफूले नपढेको भन्दै पुस्तक अत्यन्तै महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।

समालोचक अनिता पन्थीले रक्ष राईको यस ग्रन्थ नयाँ खोज, नयाँ सोच, विचार, चिन्तन र दर्शनले युक्त भएको बताइन् ।
कृतिकार राईले वाङ्मयका क्षेत्रमा नयाँ नयाँ खोज तथा अनुसन्धान गर्दै जाँदा ‘युद्ध सौन्दर्य चिन्तन’ नामक ग्रन्थ तयार भएको बताए । उनले करिब एक दशकको खोज, अध्धयन तथा अनुसन्धान र लेखनबाट ग्रन्थ तयार भएको बताए ।

राईको उक्त ग्रन्थ गोर्खा बुक्सले छापेको हो । युद्ध सौन्दर्यसम्बन्धी खोज, अनुसन्धान र चिन्तन गर्न चाहनेहरूका लागि राईको उक्त ग्रन्थ महत्वपूर्ण सामग्रीका रूपमा आएको छ । पुस्तक रत्न पुस्तक भण्डार र गोदावरी बुक हाउस बागबजारमा पाइन्छ ।


ब्रिटिस गोर्खा सैन्य सेवाबाट सेवानिवृत्त राईका यसअघि देश दुःखेको छ, सालिक उभिएर गोर्खाली, पोयट इन किलिङ जोन (अंग्रेजी) कवितासंग्रह, सहिदकी आमाको लास, बालुवामा अर्को नेपाल र पल्टनेको फोटो कथासंग्रह प्रकाशित छन् । यसका साथै मिजास तेम्बेसँगको सहलेखनमा नवचेतनाग्रह र डायास्पोरा सिद्वान्तः रचना र समालोचना नामक ग्रन्थ प्रकाशित छन् । हाल बेलायतको वेल्समा बस्दै आएका राईको जन्म खोटाङको बुइँपामा भएको हो ।

‘मानव सभ्यताको दर्पण’का रूपमा प्रस्तुत गरिएको ग्रन्थमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध सौन्दर्य चिन्तन गरी ६ अध्याय रहेका छन् । ६ सय छपन्न पृष्ठको पुस्तकको मूल्य एक हजार रहेको छ । कवि तथा प्राज्ञ शशी लुमुम्बूले सहजीकरण गरेको कार्यक्रम नेपाली वाङ्मय परिषद्ले आयोजना गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७