राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरण गर्छु : आईजीपी कुँवर


१२ चैत्र २०७९, आईतवार
Igp kuwar

काठमाडौँ । नेपाल प्रहरीका नव नियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले नेपाल प्रहरी राज्यको पहिलो अनुभूति दिलाउने अंग रहेको भन्दै राज्यप्रतिको भरोसा बढाउन प्रहरीको आन्तरिक सुदृढीकरणमा जोड दिने बताएका छन् ।

महानिरीक्षकमा बढुवा भएपछि आज (आइतबार) दर्ज्यानी चिह्नबाट सुशोभित भएपछि महानिरीक्षक कुँवरले प्रहरी नागरिकका हरेक दुःख र पीडाको प्रत्यक्ष साक्षी र सहयोगी रहेको बताए ।

‘प्रहरी संगठन समाजभन्दा अलग छैन । समाजमा देखिने राम्रा नराम्रा सबै पात्रहरू प्रहरीमा छन् । प्रहरीमा सुधार आवश्यक छ, तर त्यसका लागि दिन गनेर बस्ने छुट पनि छैन,’ महानिरीक्षक कुँवरले भने, ‘कसैले मार्ग बिराएका छन् भने तिनीहरूले आफूलाई नसुधारेर विकल्प छैन । प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा हो, म यसबाट किञ्चित पनि डगमगाउने छैन ।’

उनले आफ्नो कार्यकालमा प्रहरीले नागरिकमा राज्यप्रतिको भरोसा र प्रगाढता बढाउने गरी काम गर्ने र कार्ययोजना बनाउने बताए । महानिरीक्षक कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आइतबार गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सरकारले गत शुक्रबार कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७