सांसद शाहीको माग : सांसद–मन्त्रीका स्वकीयको तलब कटौती गरेर खेलाडीको तलब बढाइयोस्


१२ चैत्र २०७९, आईतवार
gyanendra shahi

काठमाडौँ । प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर ‘ज्ञानेन्द्र’ शाहीले मन्त्री तथा सांसदहरूको तलब कटौती गरेर राष्ट्रिय खेलाडीको तलब बढाउनु पर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद बनेका शाहीले आज (आइतबार) संसद बैठकको शून्य समयमा बोल्दै खेलाडीको तलब बढाउनु पर्ने र रंशगाला बनाउनु पर्ने बताएका हुन् ।

‘यो देशलाई यदि संसारमा कसैले चिनाउँछ भने त्यो खेलाडी हो,’ उनले भने, ‘तर, आज राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका सुजल श्रेष्ठ नेपाल छाडेर अस्ट्रेलिया जान बाध्य भए ।’

सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले फुटबलमा स्वर्ण पदक जित्दा सुजल कप्तान थि ए। त्यसबाहेक सोलिडारिटी कप जित्दा पनि राष्ट्रिय टिमका मुख्य सदस्य रहेका सुजल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिँदै गत साता अस्ट्रेलिया उडेका थिए । उनीसँगै रन्जित धिमाल पनि गएका थिए ।

हालसम्म राष्ट्रिय टिमबाट खेलिसकेका दुई दर्जनभन्दा धेरै खेलाडी अस्ट्रेलिया गइसकेका छन् । यस्तै, १३औं दक्षिण एसियाली खेलुकदमा तेक्वान्दोमा स्वर्ण जित्ने लगभग सबै खेलाडी अस्ट्रेलिया छन् । पछिल्लो समय खेलकुद गतिविधि नियमित नहुँदा खेलाडी विदेशीने क्रम झन् बढ्दै गएको छ । खेलाडी मात्रै नभएर अन्य क्षेत्रका युवा पनि राम्रो अवसरको खोजी गर्न विदेशिने क्रम बाक्लिँदै गएको छ ।

‘भक्तपुरको बाघेश्वरी विद्यालयमा पढ्दै गरेका १२ कक्षाका विद्यार्धीले विदाईमा गर्दैगर्दा खाडीमा भेटौंला भने । आज यो देशका युवाको अवस्था त्यो छ,’ सांसद शाहीले भने, ‘खेलकुद क्षेत्रमा झण्डै अहिले पनि नेपाल सरकारको कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडमध्ये खेलकुदको क्षेत्रमा दुई अर्ब ४६ करोड बजेट अर्थात ०.१३ प्रतिशत छुट्याइएको छ ।’

नेपाल सरकारको प्राथमिकतामा नपरेको खेलकुद क्षेत्रको बजेट पछिल्लो आर्थिक वर्षमा झनै घटाइएको थियो । ‘यो बजेट हेर्दा मन्त्री ज्यूका स्वकीय सचिवभन्दा कम तबलमा राष्ट्रिय टिमका खेलाडीहरू खेलिरहेका छन्,’ उनले भने, ‘त्यसैले हामी सबै सांसद–मन्त्रीका स्वकीयहरूको तलब कटौती गरेर खेलाडीको तलबमा वृद्धि गरियोस्, रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७