तनहुँ–१ मा कांग्रेसबाट गोविन्द भट्टराई उम्मेदवार


१२ चैत्र २०७९, आईतवार
Govinda Bhattrai

काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपति चयन बनेपछि रिक्त तनहुँ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा शनिबार साँझ तनहुँ–१ मा भट्टराईलाई उम्मेदवार बनाउन सहमति जुटेको पार्टी सभापति शेरबहादुर देउवा निकट एक नेताले जानकारी दिएका छन् । नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन् । नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भैसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई यसअघि नै निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका थिए । २०४८ सालदेखि लगातार पार्टीको महाधिवेशन प्रतिनिधि हुँदै आएका उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन् ।

रामचन्द्र पौडेलले गत चुनावअघि आफू राष्ट्रपति भएमा भट्टराईलाई उम्मेदवार बनाउने आश्वासन दिएका थिए । भट्टराई तनहुँ–१ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनाउने तयारी रहेको स्रोतको दावी छ । निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ । तनहुँ–१ बाट गत चुनाव जितेका पौडेल राष्ट्रपति बनेपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

त्यसैगरी चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो । त्यस्तै उपराष्ट्रपति निर्वाचित रामसहायकप्रसाद यादवको निर्वाचन क्षेत्र बारा–२ मा पनि वैशाख १० गते नै उपचुनाव हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७