प्रदर्शनकारीसँग वार्ता गरी कोशीको समस्या समाधान गर्न सांसदको माग


१२ चैत्र २०७९, आईतवार
samsad 2 scaled

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद दुर्गा राईले कोशी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बु (पदम लिम्बू) को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । उनले स्व. लिम्बूलाई शहीद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिन समेत माग गरे । यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गरेकी छन् । साथै उनले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा जनचासोका विषय कसरी प्रभावकारीरुपमा सम्बोधन होलान् भन्दै प्रश्न गरेकी छन् । सांसद डाँगीले झापाको भद्रपुर अस्पतालमा कतिपय कर्मचारीको दरबन्दी रिक्त रहेकाले र जनताले सेवा पाउन कठिनाइ भएको बताउँदै प्रभावकारी सेवा प्रदान गर्नका लागि उचित व्यवस्था गर्न माग गरिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा आवश्यक रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा विदेशिन बाध्य भएको बताउँदै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे । जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले मुलुकको ठूलो जनसंख्या कृषि पेशामा आबद्ध रहे पनि राज्यबाट उचित राहत पाउन नसक्दा र समयमै मल र बिउ पाउन नसक्दा अर्बाैंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

साथै उनले लाखौँ नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको अवस्थामा नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे ।
नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पबाट स्थानीयको घरमा भएको क्षतिका सम्बन्धमा हालसम्म क्षतिपूर्ति पाउन नसकेकाबारे सरकारको ध्यानाकर्षण गराए । साथै उनले बेमौसमी वर्षाले भएको धनजनको क्षतिका सम्बन्धमा जनताले हालसम्म पनि उचित क्षतिपूर्ति पाउन नसकेको बताउँदै तत्काल माग सुनुवाइका लागि आग्रह गरे ।

जनमत पार्टीका सांसद डा. चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने भावना रहे पनि उपराष्ट्रिपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको गुनासो गरे ।

बैठकको विशेष समयमा नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली हेर्दा माग राखेरै आफ्नो सांसदको कार्यकाल सकिने हो कि भनी चिन्ता व्यक्त गरिन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सीमानालाई व्यवस्थित गर्न माग गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७