प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच समसामयिक विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संसदमा महत्वपूर्ण विधेयकहरू पेस भएको सन्दर्भमा छलफल गर्न घिमिरे बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ । त्यस्तै, सत्तारुढ दलका सांसदहरुले सभामुखको अधिकार कटौती गर्न संशोधन पेस गरेको विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधि सभा नियमावलीमा सभामुखको तजबिजको अधिकार कटौती गर्ने सत्तापक्ष सांसदहरूले मनसाय व्यक्त गरेपछि सभामुख घिमिरेले संवाद तीव्र बनाएका छन् । आइतबार उनले प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदामा संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग संवाद गरेका थिए । सभामुखले दलका प्रमुख सचेतकहरूसँग पनि यसबारेमा छलफल गर्ने बताएका छन् ।