राप्रपाले उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने, तोक्यो चुनावी ‘कमाण्डर’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनमा तीन वटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ । आउँदो वैशाख १० गते प्रतिनिधिसभाको उपनिर्वाचन हुन गइरहेको तनहुँ–१, चितवन–२ र बारा–२ मा आफ्नो उम्मेदवार खडा गर्ने राप्रपाले जनाएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक निर्वाचन परिचालनका लागि बारा–२ मा उपाध्यक्ष बुद्धिमान तामाङ, चितवन–२ मा उपाध्यक्ष विक्रम पाण्डे र तनहुँ–१ मा कोषाध्यक्ष निलकण्ठ काफ्लेलाई निर्वाचन कमान्डर तोकेको छ । यस्तै, पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी ०८० वैशाख २९ र ३० गते काठमाडौंमा बस्ने गरि तय गरिएको छ ।
राप्रपाले हालै सम्पन्न निर्वाचनपछि पार्टीको सांगठनिक अवस्था, राजनीतिक कार्यदिशाको समिक्षा र आगामी रणनीतिबारे बृहत छलफल गर्न आगामी वैशाख महिनाभित्र सातवटै प्रदेशमा अगुवा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ । राप्रपाले सबै केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आफ्नो जिल्ला बाहेकका जिल्लामा संगठन सुदृढीकरणका लागि खटाउने निर्णय गरेको पनि गरेको छ ।