झपक्कै फुल्यो आँप


१४ चैत्र २०७९, मंगलवार
Mango Tree

दाङ । यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुशी ल्याएको छ । ‘अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं’, तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, ‘यसले हामीलाई खुशी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ ।’

आँप धेरै फुले पनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताए । ‘हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ’, उनले भने, ‘आँप धेरै फले पनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।’

यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘फूल फुल्ने विरुवामा एक बर्ष अनएयर र एक बर्ष अफएयर हुन्छ’, उनले भने, ‘यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।’

असिना, पानी, हावाहुरीले असर नगरेमा यस बर्ष आँप उत्पादन अत्याधिक बृद्धि हुने उनको भनाई छ । आँप उत्पादन भएपनि त्यसलाई बजारिकरणका लागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अबस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा ब्यबसायिकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

दाङको पवननगर, मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु, सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातका आँपहरु उत्पादन हुने गरेको छ । जिल्लामा बर्षेनी आठ हजार मेट्रिक टनको हाराहारीमा आँप उत्पादन हुने गर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७