दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन

म्याग्दी । पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीहरुलाई सास्ती भएको छ । थ्री फेज विद्युत लाइन र स्पेपलाइजर ५० केभीएजडान नहुँदा दाताले दिएको मेसिन प्रयोगविहीन भएको हो । एक्सरे मेसिन प्रयोगमा नआउँदा बिरामीहरुलाई सदरमुकाम बेनी आउनुपर्ने बाध्यता छ ।
लायन्स क्लब अफ म्याग्दी दरवाङको पहलमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले उपलब्ध गराएको ५०० एमए एक्सरे मेसिन उपयोगहीन भएको लायन्स क्लव अफ दरबाङका अध्यक्ष थमन गौतमले जानकारी दिए । स्वास्थ्य केन्द्रमा पश्चिम म्याग्दीको मालिका,धवलागिरी गाउँपालिका साथै छिमेकी बागलुङका विभिन्न बस्तीबाट बिरामीहरु आउने गर्दछन् ।
दैनिक ३० देखि ४० जनाले सेवा लिने केन्द्रमा अति आवश्यक एक्सरे मेसिन नै प्रयोगमा नआएपछि समस्या भएको उनले बताए । स्वास्थ्य केन्द्रका डा विजय शर्माले भने, ‘एक्सरे मेसिन प्रयोग नहुँदा समस्या भएको छ, विद्युत आपूर्ति गरी सञ्चालनको पहल भइरहेको छ ।’
उनका अनुसार स्पेपलाइजर ५० केभीएको मेसिन मालिका गाउँपालिकाले खरिद गर्ने सम्झौता भएको छ । एक्सरे मेसिन प्रयोगका लागि निक साइमनबाट रेडियोग्राफर सुमन चक्रधर समेत केन्द्रमा कार्यरत छन् ।
लायन्स क्लवले केन्द्रलाई कम्प्युटर रेडियोग्राफी सिस्टम एक थान, युएसजी र इलेक्ट्रोटोटल एनालाइजर मेसिन उपलब्ध गराएको थियो । लायन्स क्लबका पदाधिकारीले गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडाध्यक्ष पथबहादुर रोकाको उपस्थितिमा ती मेसिन हस्तान्तरण गरिएका जनाइएको छ ।