कलाकारको गोपनीयता र सुरक्षामा साइबर हमला बढ्यो : भुवन केसी


१४ चैत्र २०७९, मंगलवार
Bhuwan kc
फाइल फोटो

काठमाडौँ । चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनीयता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन् ।

आज (मंगलबार) चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताए । उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको बताए ।

कार्यकारी अध्यक्ष केसीले कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताए । उनले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे ।

साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए। नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उल्लेख गरे ।

उनले भने, ‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौति सिर्जना गरेको छ । हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौ ँ। यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ । यसबाहेक हाम्रा कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ ।’

कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाएका छन् । उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउने गरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए । उनले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा बन्ने चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनइ अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताए । उनले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताए । प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरु मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७