पाँच लाख १६ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

छात्राभन्दा छात्रको संख्या बढी, जापानबाट १४ विद्यार्थीले परीक्षा दिँदै


१५ चैत्र २०७९, बुधबार
SEE Exam 5
फाइल फोटो

काठमाडौं । शुक्रबारबाट शुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पाँच लाख १६ हजार ५९१ परीक्षार्थी सहभागी हुँदै छन् । तीमध्ये १४ जना जापानबाट एसइईमा सहभागी हुन लागेका हुन् ।

पाँच लाख १६ हजार ५९१ परीक्षार्थीका लागि देशभरका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र कायम गरिएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् । जापानी विद्यार्थीका लागि जापानमै केन्द्र राखिएको छ ।

यस वर्ष छात्राभन्दा छात्रको संख्या बढी रहेको छ । दुई लाख ६० हजार ६७४ छात्र र दुई लाख ५५ हजार ९१७ छात्रा परीक्षामा सहभागी हुने श्रेष्ठले जानकारी दिएका छन् । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको नियन्त्रक श्रेष्ठले बताए । उनले भने, ‘उत्तरपुस्तिका हरेक परीक्षा केन्द्रमा पुगेको छ, प्रश्नपत्र केन्द्रको नजिक रहेको सुरक्षा केन्द्रमा पुगेको छ ।’

पनिकाका अनुसार सबैभन्दा धेरै विद्यार्थी तथा परीक्षा केन्द्र बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा छन् । बागमती प्रदेशमा ४३४ परीक्षा केन्द्र र एक लाख ६ हजार ९५९ विद्यार्थी छन् । सबैभन्दा कम रहेको कर्णालीमा १७९ परीक्षा केन्द्र र परीक्षार्थी ४१ हजार ३२९ रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी, कोसी प्रदेशमा ३७८, मधेसमा २७९, गण्डकीमा २२३, लुम्बिनीमा ३३४ र सुदूरपश्चिम प्रदेशमा २०९ परीक्षा केन्द्र तय गरिएको छ । अघिल्लो वर्षको एसइईमा देशभरबाट पाँच लाख १८ हजार एक सय ८५ विद्यार्थीले आवेदन भरेकामा चार लाख ९५ हजार ६ सय ४८ जना परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७