चीनको चेतावनी : अमेरिकी सभामुखले ताइवानी राष्ट्रपतिलाई भेटे बदला लिन्छौँ


१५ चैत्र २०७९, बुधबार
china1680067079

काठमाडौं । अमेरिकी सभामुख केभिन म्याकार्थीले ताइवानकी राष्ट्रपति साई इङ्ग वेनलाई भेटेमा बदला लिने भन्दै चीनले बुधबार चेतावनी दिएको छ ।

आउँदो महिना अप्रिलमा ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले संयुक्त राज्य अमेरिकाको भ्रमण गर्ने बताइएको छ । साईको अमेरिका भ्रमण ताइवानलाई छुट्टै देशको मान्यता दिने प्रयासको समर्थनका रुपमा हेरिएको रोयटर्सले लेखेको छ ।
यसअघि, गत वर्षको अगस्टमा तत्कालीन अमेरिका सभामुख न्यान्सी पेलोसीले ताइपेईको भ्रमण गरेपछि चीनले ताइवानको वरिपरि युद्धाभ्यास गरेको थियो । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रका रूपमा दाबी गर्छ ।

ताइवानकी राष्ट्रपति साई बुधबार ग्वाटेमाला र बेलिजको यात्राको लागि प्रस्थान गर्ने बताइएको छ । यसै भ्रमणपछि उनको ट्रान्जिट न्युयोर्क र लस एन्जलस हुनेछ । आधिकारिक रूपमा पुष्टि नभए पनि उनले आफ्नो भ्रमणको अन्त्यमा क्यालिफोर्नियामा अमेरिकी सभामुख म्याकार्थीलाई भेट्ने अपेक्षा गरिएको छ ।

चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झू फेंग्लियनले बेइजिङमा पत्रकारहरूसँग बोल्दै साईको अमेरिकाको ट्रान्जिट एयरपोर्ट र होटेलमा बस्ने मात्रै नभएर अमेरिकी अधिकारीहरू र सांसदहरूलाई भेट्नु भएको बताएकी छन् ।

‘अमेरिकी सभामुख म्याकार्थीसँग उनको सम्पर्क छ भने यो अर्को उक्साहट हुनेछ, जसले एक चीन नीतिलाई गम्भीर रूपमा उल्लङ्घन गर्दछ । चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई हानि पुर्‍याउँछ र ताइवान जलडमरू (दुई समुद्र जोड्ने सानो भाग जमिन) मा शान्ति र स्थिरता भंग गर्दछ’, उनले भनिन् । ‘हामी यसको विरोध गर्दछौँ र निश्चित रूपमा दृढतापूर्वक लड्न उपायहरू अपनाउने छौँ’, चीनको ताइवान मामिला कार्यालयकी प्रवक्ता झूले अघि भनेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७