शुक्लाफाँटामा खरमजुरको गणना


१५ चैत्र २०७९, बुधबार
khar majur i1JoFNfwMV

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय र नेपाल पंक्षी संरक्षण सङ्घले संयुक्त रूपमा एक सातासम्म विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुरको गणना गरेको हो । नेपाल पन्छी संरक्षण सङ्घका परियोजना सहायक हिरुलाल डगौराले चैत ८ देखि १४ गतेसम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमजुरको गणना गरिएको बताए ।

‘यो विश्वकै अति सङ्कटापन्न पंक्षी हो’, डगौराले भने, ‘खरमजुर नेपाल, भारत, क्याम्बोडिया र भियतनाममा मात्रै पाइन्छ ।’ उनले राष्ट्रिय रुपमा खरमजुरको गणना भइरहेकाले केही समयपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिने बताए । खरमजुर नेपालमा शुक्लाफाँटा, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने उनले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय कञ्चनपुरका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले एक सातासम्म निकुञ्जमा खरमजुर पाइने स्थानमा अध्ययन गरिएको बताए । उनले भने, ‘सङ्घले हाम्रो विभागमा रिपोर्ट बुझाएपछि मात्रै तथ्याङ्क सार्वजनिक गरिन्छ ।’ ग्रीष्मयामको सुरुआतदेखि बर्खायाम नलाग्दासम्म यसको प्रजनन समय भएकाले यो समयमा खरमजुर निकुञ्जको घाँसे मैदानमा देख्न पाइन्छ ।

निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान, हरैया, लालपानी र अर्जुनी लगायतका घाँसे मैदानमा ७१ वटा केन्द्र निर्धारण गरी गणना गरिएको थियो । सन् २०२१ मा गरिएको गणनाअनुसार शुक्लाफाँटामा आठवटा खरमजुर रहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए । शुक्लाफाँटामा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार यहाँ चार सय ५४ प्रजातिका चरा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७