हवाट्स एप र टेलिग्राममार्फत करोडौँ ठगी, नौं चिनियाँ र १० नेपाली पक्राउ

पक्राउ परेका चिनियाँ नागरिकले प्रहरी कार्यालयमै लगाए नाराबाजी


१५ चैत्र २०७९, बुधबार
chinese

काठमाडौं । अनलाइनमार्फत करोडौँ ठगी गरेको आरोपमा नौ चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध अनलाइनमार्फत काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ह्वास एप, टेलिग्राम र अपरेसन टिचर नामक च्यानलको प्रयोग गरेर करोडौँ ठगी गरेको उजुरी परेपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा १० नेपाली र नौँ चिनियाँ नागरिक छन् । यस घटनाबारे थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउन कार्यालयले जिल्ला प्रहरी परिसर, टेकुलाई निर्देशन दिएको छ । उनीहरुमाथि १० करोड बढी ठगी गरेको आरोप लागेको छ । अनलाइनबाट ठगी गर्न उनीहरुले काठमाडौंका विभिन्न स्थानमा घर भाडामा लिएको खुलेको छ । उक्त अवैध कारोबारमा मुख्य रुपमा चिनियाँ नागरिकहरु संलग्न रहेको खुलेको छ ।

chinese citizen arrested 1024x621 1

उनीहरुले अवैध रुपमा कार्यालय सञ्चालन गरी सामाजिक सञ्जाल ह्वाट्सएपमा विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी अनलाइनमार्फत बिजनेसबाट ठूलो रकम फाइदा हुने भन्दै ठगेको खुलेको छ । ठगीमा संलग्नहरुले टेलिग्राममा अप्रेसन टिचर नामक च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी विभिन्न प्रलोभनमा देखाएर ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।
प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट उक्त ठगीमा प्रयोग गरिएका कयौँ विद्युतीय सामान पनि बरामद गरेको छ । उनीहरु अधिकांशलाई बूढानीलकण्ठ नगरपालिका २ महादेवखोला र काठमाडौं महानगरपालिका चण्डोलबाट पक्राउ गरिएको हो ।

यसैबीच पक्राउ परेका चिनियाँ नागरिकहरूलाई सार्वजनिक गर्ने क्रममा उनीहरू प्रहरी कार्यालयमै सुतेका छन् । प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्न उनीहरूलाई बाहिर निकाले लगत्तै विरोधस्वरूप प्रहरी कार्यालयमै सुत्नुका साथै नाराबाजी गरेका छन् । उनीहरूले सुतेर नाराबाजी समेत गरेका छन् । तस्वीर खिच्न खोज्दा उनीहरूले हत्कडी लगाएको अवस्थामै पत्रकारमाथि समेत दुर्व्यवहार गर्ने प्रयास गरेका थिए । उनीहरूले सकभर आफूलाई पत्रकारको क्यामेराबाट बचाउन खोजिरहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७