नामिबियाले पपुवा न्यु गिनीलाई ४८ रनले हरायो


१६ चैत्र २०७९, बिहीबार
Namibia beat PNG by 48 runs NHbK9326qd

काठमाडौँ । आईसीसी विश्वकप छनोट प्लेअफको हिजोको खेलमा पपुवा न्यु गिनी (पीएनजी) ले लगातार दोस्रो हार ब्यहोरेको छ । घरेलु टोली नामिबियाले पीएनजीलाई ४८ रनले पराजित गरेको छ । नामिबियाले दिएको ३८२ रनको लक्ष्य पछ्याएको पीएनजी ४६ ओभर २ बलमा ३३३ रनमा अलआउट भयो ।

पीएनजीका चार्ल्स अमिनीले १०९ रनको शतकीय पारी खेले । कप्तान असद भालाले ५७ तथा सेसे बाउले ५४ रन बनाए । नामिबियाका रुबेन ट्रम्पलम्यान र बेर्नहार्ड स्कोल्टर्जले समान ३-३ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ८ विकेट गुमाएर ३८१ रन बनाएको थियो ।

नामिबियाले आफ्नो एक दिवसीय इतिहासमा बनाएको यो सबैभन्दा ठूलो योगफल हो । साथै एसोसिएट टोलीका रुपमा नामिबिया एक दिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने टोली पनि बनेको छ । नामिबियाका कप्तान ग्रेहार्ड इरास्मसले १२५ रनको शतकीय पारी खेले । निकोलस डेविनले ९० तथा जान निकोलले ६१ रन बनाए ।

पीएनजीका सिमो कमियले ५ तथा कबुआ मोरियाले २ विकेट लिए । नामिबिया २ खेलमा २ अङ्कका साथ चौथो स्थानमा रहेको छ । लगातार दोस्रो हार ब्यहोरेको पीएनजी अङ्कविहिन रहँदै पुछारमा छ ।

प्लेअफमा आईसीसी विश्वकप लिग–२ का पुछारका चार टोली नामिबिया, अमेरिका, यूएई र पीएनजीसँगै आईसीसी विश्व कप च्यालेञ्ज लिग ‘ए’ र ‘बी’ का विजेता क्यानडा र जर्सी सहभागी छन् । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बाब्वेमा हुने विश्वकप छनोट खेल्न पाउने छन् । विश्व कप छनोट खेलका लागि नेपाल यसअघि नै छनोट भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७