रविको वास्तविकता चितवनवासीले बुझिसके, मंसिरको उल्टो परिणाम आउँछ : श्रेष्ठ

काठमाडौँ । चितवन उपनिर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार तथा नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।
आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै सञ्चरकर्मीहरुसँगको कुराकानीमा उनले मंसिरको हावाहुरी वैसाखमा नदेखिने दाबी गरे ।
उनले मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)क ा सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै अहिले सभापति लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए । उनले सभापति लामिछानेको पार्टी आफै अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरू जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरू गरिरहेकाले जनताले स्पट बुझिसकेको बताए ।
नेता श्रेष्ठले वैशाख १० गतेको निर्वाचनमा मंसिरको उल्टो परिणाम आउने दाबी गरे । नेता श्रेष्ठले चितवनका जनता शिक्षित रहेकाले सभापति लामिछानेको वास्तविकता बुझिसकेको बताएका हुन् ।