फिलिपिन्स पानीजहाज आगलागी : ३१ को मृत्यु, सात जना बेपत्ता


१६ चैत्र २०७९, बिहीबार
philippines ship disaster2023 03 30 01 57 33

काठमाडौं । दक्षिणी फिलिपिन्समा एउटा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

गए राति जहाजमा आगो लागेपछि चालक दलका ३५ सदस्य र १९० यात्रुलाई तट रक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । पानी जहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो । सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुने गरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७