प्रचण्डलाई ओलीको आग्रह : हाम्रो भूमि कहाँ के भइरहेको छ ? खुलस्त भन्नुस्


१६ चैत्र २०७९, बिहीबार
kp oli 4
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सरकारको भूमि कहाँ कहाँ मिचिएको छ खुलस्त पार्न माग गरेका छन् । रिपोटर्स क्लबद्वारा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनले अहिले राष्ट्रियता अफ्ठ्यारोमा परेको बताएका छन् ।

‘हाम्रो सीमा मिचिँदो छ । भूमि खुम्चिँदो छ । हाम्रो भूमि मिचिँदै छ । सरकार मौन छ । किनभने, बोल्यो भने उसको सत्ता धरापमा पर्छ’, ओलीले भने । राष्ट्रियता अफ्ठ्यारोमा हुँदा देशको पक्षमा बोल्दा सरकार, पद खतरामा पर्छ भनेर राष्ट्रका पक्षमा बोल्न सकिँदैन भने राष्ट्रको सरकार भन्न लायक नहुने उनले बताए । ओलीले नेपाली भूमिबारे प्रधानमन्त्रीसँग जवाफ मागे ।

‘हाम्रो भूमि र अखण्डताको बारेमा सरकारले अविलम्ब बोलोस् । भोलि प्रधानमन्त्रीजी यहाँ आउँदै हुनुहुन्छ । भोलि प्रधानमन्त्रीजीले बोल्नुस्’, ओलीले थपे, ‘हाम्रो भूमि के भइरहेको छ ? भूमि अतिक्रमित भएको छ कि छैन ? भएको छ भने कहाँ कहाँ भएको छ ?’ उनले भूमिबारे बोल्न नसकेको भन्दै विदेश भ्रमणमा किन जान लागेको भन्ने प्रश्न गरे । ‘विदेश भ्रमणमा जाँदै किन हुनुहुन्छ ? यहाँ चुँ गर्न सक्नु भएको छैन । त्यहाँ गएर बोल्न सक्ने कुरै छैन । के गर्न जाँदै हुनुहुन्छ ? जमिन दाबेदारी गर्न जाँदै हुुनुहुन्छ कि अरु नै कुरा ?’, ओलीले प्रश्न गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७