लाङटाङ बाहेकमा यातायातको पहुँच


१७ चैत्र २०७९, शुक्रबार
bus rasuwa
फाइल फोटो

रसुवा । रसुवाको लाङटाङ क्षेत्रबाहेक अन्य सबै गाउँमा नियमित बस सेवा सञ्चालन भएको छ । काठमाडौँलगायत विभिन्न स्थानको यात्रामा जान गाउँ टोलबाटै बस चल्न थालेका पछि स्थानीय बासिन्दालाई अनेत्र आउजाउ गर्न र रसुवा धुम्ने पर्यटकलाई समेत यात्रा गर्न सहजता आएको छ । प्रत्येक गाउँ टोलमा मोटरबाटो पुर्‍याउन स्थानीय सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकता दिएका कारण अहिले रसुवाका गाउँगाउँमा बस सेवा सञ्चालन हुन थालेको हो ।

भौगोलिक विकटताले सबैभन्दा बढी दूरदराज मानिएको यार्साको सिङ्वन्दी, गाङ्मर समेतका स्थानमा सडक निर्माण भएपछि बिरामी पर्दा एम्बुलेन्स बोलाउन, खाद्यान्न ढुवानी गराउन, गाउँ ठाउँबाट बसमा यात्रा गर्न समेत सहज भएको स्थानीय समाजसेवी लछिन नुर्पु तामाङले बताएका छन् ।

स्थानीय सरकार गठन भएसँगै सडक मार्ग खोल्न गरिएको प्रायासअन्तर्गत हालसम्म ६४ किलोमिटर गाउँले सडकको ट्रयाक खोल्ने काम सम्पन्न गरी ठाडो खोलाका पुल निर्माण कार्य गराउन लागिएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्वो घलेले बताए ।

मोटरबाटो खुलेसँगै स्थानीयस्तरमा उत्पादित कृषिउपज ताजाताजै व्यापारिक केन्द्रमा पुर्‍याउन सहज भएकोसमेत स्थानीय किसानले बताएका छन् । काठमाडौँको बालाजुदेखि रसुवाको सरमथली, यार्सा, भोर्ले, जिवजिवे, कालिकास्थान, डाँडागाउँ, हाकु, मनिगाउँ कर्मिडाँडा, धुञ्चे, गतलाङ, स्याफ्रुबेँसी, चिलिमेको थाम्बुचेत, तातोपानी, थुमन, टिमुरे, बृद्विमसमेतका स्थानमा नियमित बस सेवा सञ्चालन भइसकेको नमस्ते पासाङ ल्हामु बस व्यवसायी यातायात समितिले जनाएको छ ।

अधिकांश सडक कच्ची र कतिपय सडकका खोलामा पुल बन्न बाँकी नै रहेका कारण हिउँदयामको समयमा मात्र बस सेवा सञ्चालन हुने र थाप्लोमा नाम्लोले भारी बोक्नुपर्ने समस्या भने क्रमशः हट्दै गएको स्थानीय बासिन्दाले जनाएका छन् ।

यस वर्षबाट बृद्विमदेखि–काठमाडौँसम्म नियमित बस सेवा सञ्चालन भएका कारण हिमाली पदयात्रामा जाने पर्यटकलाई लाङटाङ जान र फर्कन अन्यन्तै सरल सहज भएको पर्यटन व्यवसायीले बताएका छन् । काठमाडौँ बाट बृद्विमको खाम्जिमसम्म बस यात्रापश्चात् अधिकांश ठाडो उकालो बाटो पार भई खाम्जिङदेखि पैदलयात्रा सुरू भई शेर्पा गाउँ, रिम्चे, लामा होटल, घोडा तबेला हुँदै छड्के छड्के पैदलमार्गबाट लाङटाङ पुगी सहजरूपले यात्रा गर्न सकिने पथ प्रदर्शकले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७