नयाँ मन्त्रीको शपथ दिउँसो ३ बजे, कुन दलबाट को–को बन्दै छन् ?


१७ चैत्र २०७९, शुक्रबार
413 Shares
prachanda photo
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धन दलहरूबीच कुन दलले कति मन्त्रालय लिने भन्ने विषयमा सहमति भए पनि मन्त्रालयको नेतृत्व कसले लिने भन्ने अझै टुङ्गो लागेको छैन ।

आज (शुक्रबार) दिउँसो १ बजेसम्ममा आ–आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने नयाँ मन्त्रीहरूको अन्तिम नामावली दिन प्रधानमन्त्रीले आग्रह गरेको उनको सचिवालयले जनाएको छ । १ बजेसम्म दलहरूबाट नाम लिएर दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ । यसअघि भएको सहमति अनुसार नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २-२ मन्त्रालय पाउनेछन्। त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १-१ वटा मन्त्रालय पाउने छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दै छन् ।

कुन दलबाट को–को बन्दैछन् मन्त्री ?
सत्ता साझेदार दलमध्ये प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ८ वटा मन्त्रालयसहित सरकारमा सहभागिता जनाउँदै छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । खड्कालाई उपप्रधानसहित रक्षा मन्त्रालय दिने तयारी छ । त्यस्तै, कांग्रेसले अर्थ मन्त्रालयमा डा. प्रकाशशरण महतलाई पठाउने भएको छ ।

jagdamba.cement
rbbbb

परराष्ट्र, स्वास्थ्य, भूमि, सहरी विकास, सामान्य प्रशासन लगायतका मन्त्रालयको नेतृत्व कांग्रेसका नेताहरूले गर्नेछन् । मन्त्रालय लिनेबारे प्रधानमन्त्रीसँग पनि कांग्रेस सभापति शेरबहादुर देउवाको छलफल भइसकेको छ ।

कांग्रेसकै अर्का उपसभापति धनराज गुरुङ, केन्द्रीय सदस्य एनपी साउद, सीता गुरुङ, डिगबहादुर लिम्बु, मोहनबहादुर बस्नेत लगायतको नाम मन्त्री बन्नेको सूचीमा छ । तीमध्ये कसलाई कुन मन्त्रालय दिने भन्नेबारे सभापति देउवाले आज मात्रै निर्णय लिएर प्रधानमन्त्रीलाई सूची बुझाउने तयारी छ ।

केन्द्रीय सदस्य एनपी साउद सहरी विकास, उपसभापति धनराज गुरुङ संघीय मामिला तथा सामान्य प्रशासन, केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य, डिगबहादुर लिम्बु कानुन, सीता गुरुङले भूमि व्यवस्था मन्त्रालयले पाउने स्रोतले जानकारी दिएको छ ।

त्यस्तै सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको भागमा पाँच मन्त्रालय परेका छन् । प्रधानमन्त्रीसहित गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय माओवादीले नेतृत्व गर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर हुने भएको छ । उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिन लागेको स्रोतले बताएको छ ।

माओवादीबाट अहिले सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराँती छन् । माओवादीले सम्हाल्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने कांग्रेसले लिने भएको छ । सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई अर्को कुनै मन्त्रालय दिने तयारी छ ।

त्यस्तै, एकीकृत समाजवादीले शिक्षा र भौतिक पूर्वाधार मन्त्रालय लिने भएको छ । शिक्षामन्त्रीमा एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । जसपाले लिने २ वटा मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।

जसपाले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, राजेगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने भएको छ । लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बनाउने तयारी छ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट महिन्द्र राय यादव मन्त्री बन्ने छन् ।

उनलाई दिने मन्त्रालयबारे टुङ्गो लागिसकेको छैन । नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्दै छिन् । त्यस्तै मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन् । उनको पनि मन्त्रालय टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७