माओवादीबाट शक्ति बस्नेत उर्जामन्त्री बन्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्ने ऊर्जामन्त्री बन्ने भएका छन् । बस्नेतले शुक्रवार उर्जामन्त्रीको रुपमा शपथ लिन लागेका हुन् ।
आज (शुक्रबार) मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बस्नेतलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् । नयाँ मन्त्रीहरुले आज दिउँसो ३ बजे शपथ लिने तयारी छ । बस्नेत यसअघि गृह, वन र स्वास्थ्यमन्त्री भएका थिए । उनी गृहमा जान इच्छुक थिए ।
तर, माओवादी उपाध्यक्ष समेत रहेका भौतिक, पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री नपाए राजीनामा दिने अडान राखेपछि बस्नेतलाई ऊर्जा मन्त्रालय दिन लागिएको हो । माओवादीमा बस्नेतलाई नै गृहमा पठाउन प्रधानमन्त्री दाहाललाई दबाव थियो । तर, श्रेष्ठले गृहमा अडान नछोडेपछि बस्नेतलाई उर्जामा लग्न लागिएको हो ।
बस्नेत लगातार तीन पटक संसदीय निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका नेता हुन् । २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जाजरकोटबाट निर्वाचित भएका उनी गत मंसिरमा भएको निर्वाचनमा ३४ हजार १५१ मतसहित निर्वाचित भएका थिए ।
बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए भने २०७२ सालमा गृहमन्त्री बनेका थिए । २०७४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री पनि बनेका थिए । माओवादी जनयुद्धमा कर्णाली, थारुवान, भेरी जस्ता क्षेत्रीय व्यूरो इञ्चार्जको भूमिका निर्वाह गरेका वस्नेत माओवादीभित्र अध्यक्ष प्रचण्डका विश्वासिला नेताका रुपमा चिनिन्छन् ।