सम्मानजनक सहभागिता नभए कांग्रेसको शेखर समूह सरकार बाहिरै बस्ने

काठमाडौं । नेपाली काँग्रेसको शेखर कोइराला पक्ष सम्मानजनक सहभागिता नपाए सरकारमा नजाने भएको छ ।
आज (शुक्रबार) बिहान बसेको कोइराला पक्षको बैठकले सम्मानजनक भाग नपाए सरकारमा नजाने निर्णय गरेको हो ।
काँग्रेसलाई सरकारमा सहभागिताका लागि ८ वटा मन्त्रालय भागमा परेको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेका छन् । शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ । छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
‘हामी छलफलमा बसेको थियौँ । सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने र बाहिरै बस्ने भनेर हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनेका छौँ’, परियारले भने । अहिले मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक जारी छ । बैठकमा शेखर समूहबाट कोही नेता गएका छैनन् । शेखर समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।