डलर साट्ने बहानामा साढे ३० लाख ठगेको आरोपमा तामाङ पक्राउ


१७ चैत्र २०७९, शुक्रबार
bhim

काठमाडौँ । डलर साट्ने बहानामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सिन्धुपाल्चोकको बाह्रबिसे २ कर्थलीका २८ वर्षीय भीमबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङले उपत्यकाका विभिन्न व्यक्तिलाई फोन गरी डलर साटिदिन्छु भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोप छ । भक्तपुरको दधिकोटबाट १९ लाख, ललितपुरको चाँगाथलीबाट २ लाख, ललितपुरकै सानोगाउँबाट ४ लाख र भक्तपुरको बालकोटबाट ५ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

ठगी पीडितहरुले उपत्यका उपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका थिए । सीसीटीभी फुटेज र पीडितले दिएको हुलियाका आधारमा उनको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि सातदोबाटो वृत्त पठाइएको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

उनले यसअघि २०७७ असोज २५ गते सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ७ मा जाहेरवाला विक्रम गिरीलाई नक्कली सुन देखाई ५ लाख रुपैयाँ ठगी गर्न खोजेको पनि खुलेको छ । उक्त कसुरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा चलेको र २०७८ असोज ११ गते आनन्द सिंहलाई नक्कली सुन देखाई ठगी गरेको घटनामा प्रहरी वृत्त नयाँ बानेश्वरबाट पक्राउ गरेर मुद्दा चलाएको पनि खुलेको छ । अनि ठगी गरेर ल्याएको रकमले ऋण तिरेको र एउटा मोटरसाइकल किनेको प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७