युवक–युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत्त फेला


१७ चैत्र २०७९, शुक्रबार
death
सांकेतिक तस्वीर

मोरङ । मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो युवा–युवतीको शव भेटिएको छ ।

लिचीको रुखमा झुण्डिएको अवस्थामा रंगेली–२ का अन्दाजी १८ वर्षीय सञ्जय उराव र बेलबारी नगरपालिका–२ की अन्दाजी १८ वर्षीया ललिता उराव मृत भेटिएका हुन् । जनक कार्कीले सञ्चालन गरेको ईश्वरी कृषि फार्मभित्र रहेको लिची बगानको एउटै हाँगोमा डोरीको पासो लगाएर सञ्जय र ललितालाई झुण्डिएको भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार स्थानीयले झुण्डिएर मृत्यु भएको अवस्थामा देखेपछि दिउँसो १२ः५० बजेतिर प्रहरी चौकी बबियाविर्तालाई खबर गरेका थिए । लगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक चन्द्रबहादुर खड्का नेतृत्वको टोली पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीले दुवै शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी पनि गरेको छ ।

‘रुखको एउटै हाँगोमा युवा–युवती झुण्डिएको अवस्थामा भेटिएका छन् । डोरी चाँहि अलग–अलग छन्,’ डीएसपी दाहालले भने, ‘तर, एउटै गाँठो बनाएर झुण्डिएको अवस्थामा मृत फेला पारियो । घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ ।’

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले घटनाको यथार्थ पत्ता लगाउन निर्देशन दिँदै मिहीन ढंगबाट अनुसन्धान अघि बढाउन विशेष टोली परिचालन गरेका छन् । झुण्डिएको अवस्थामा भेटिएका सञ्जयको घर लिची बगान नजिक छ । बेलबारी–२ थापा टोलका माइला उरावकी छोरी ललिता र उनीबीच बिहे गर्ने पारिवारिक सहमति भइसकेको स्थानीय बताउँछन् । त्यही सहमति अनुसार १ महिनाअघिदेखि ललिता सञ्जयकै घरमा गएर उनीसँगै बस्न थालेकी थिइन् ।

‘दुवै जनाको बिहे गर्ने उमेर पुगेको थिएन । उमेर पुगेपछि उनीहरूबीच सामाजिक औपचारिक हिसाबले बिहे गर्ने पारिवारिक सहमति भएको रहेछ,’ परिवारलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘त्यही सहमति अनुसार १ महिनादेखि सँगै बस्न थालेको पाइयो । अचानक दुवै जना झुण्डिएको अवस्थामा भेटिए ।’ प्रारम्भिक अनुसन्धानबाट झुण्डिनु पर्ने कुनै कारण पत्ता नलागेको र थप अनुसन्धानपछि घटनाका बारेमा यकिन हुने डीएसपी दाहालले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७