शरतसिंह भण्डारी : ३६ वर्षमा १२ पटक मन्त्री

‘मन्त्रालयलाई प्रतिष्ठित बनाउँछु’


१७ चैत्र २०७९, शुक्रबार
Sarat shingh Bhandari 2

काठमाडौं । नव नियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयलाई मर्यादित र प्रतिष्ठित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदबारस्थित मन्त्रालयमा पदवहालीका क्रममा उनले स्वदेश मै रोजगार सिर्जना तथा वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाइने बताए । मुलुकको समृद्धिका लागि श्रम मन्त्रालयले योगदान गर्न सक्ने गरी मन्त्रालयलाई सञ्चालन गरिने बताए ।

अहिले मन्त्रालयले गरिरहेका सम्पूर्ण कामकारबाहीलाई पुनरावलोकन गरिने उनको भनाइ छ । उनले सीपयुक्त दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन पहल गरिने बताए । पदवहालीका क्रममा मन्त्री भण्डारीले अभिमुखीकरण सेवा प्रदायक संस्थाका काम कारबाहीलाई थप प्रभावकारी बनाउन कार्यदल गठन गर्नेसम्बन्धी निर्णय गरेका छन् ।

२०४३ मा मरिचमान सिंह प्रधानमन्त्री भएको बेलादेखि मन्त्री हुँदै आएका लोसपाका वरिष्ठ नेता भण्डारी १९ औं पटक मन्त्री भएका छन् । २०३८ मा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी पटक–पटक चुनाव जित्दै मन्त्री हुँदै आए । २०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका भण्डारी बहुदल आएपछि नेपाली कांग्रेसमा आबद्ध भएका थिए ।

Sarat shingh Bhandari 1

२०६२/२०६३ को आन्दोलनपछि बनेको अन्तरिम संसदमा कांग्रेसबाट सांसद रहेकै बेला उनी कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरे । भण्डारीले मधेश आन्दोलनपछि भएको पहिलो संविधानसभा चुनावमा महोत्तरीबाट चुनाव जितेका थिए । तत्कालीन मधेशी जनअधिकार फोरमबाट अलग भएर विजयकुमार गच्छदारले मधेशी जनअधिकार फोरम लोकतान्त्रिक गठन गर्दा भण्डारीले पनि साथ दिएका थिए । पछि डा.बाबुराम भट्टराई नेतृत्वको सरकारमा उनी रक्षा मन्त्री बने ।

रक्षामन्त्री रहेकै बेला विवादास्पद अभिव्यक्ति दिएका कारण उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको ८ बुँदे सम्झौताअनुसार नेपाली सेनामा मधेसी समूदायको समूहगत प्रवेशको विषय उठाउँदा उनी विवादमा मुछिएका थिए । त्यसबेला मधेशी समुदायमाथिको विभेद अन्त्य नभए देशसमेत विखण्डन हुन सक्ने अभिव्यक्ति दिएपछि उनलाई बर्खास्त गरिएको थियो ।

उनले त्यतिबेला भनेका थिए, ‘राजतन्त्र समाप्त गर्न सकिन्छ भनेर कुन संविधान, कानुनमा लेखिएको थियो ? तर जनताले रुचाएनन् र फालिदिए । तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन । मधेसका जनताको भावना राष्ट्रले बुझ्न नसके नेपालबाट २२ जिल्ला टुक्रिन पुग्छन् । २२ जिल्लाका मधेसीलाई हेपेर, पेलेर पन्छाउनुभन्दा सम्मान दिएर भावनात्मक रूपमा एकता कायम गरि राष्ट्रिय एकता र अखण्डता बलियो पार्नुपर्छ ।’

सो राजीनामा प्रकरणमा गच्छदारले साथ नदिएको भन्दै असन्तुष्ट रहेका भण्डारीले त्यसपछि छुट्टै समूह बनाएर तराई मधेसमा जनजागरण अभियान थालेका थिए । त्यसलगत्तै उनले राष्ट्रिय मधेस समाजवादी पार्टी नै गठन गरे । केही समय आफ्नै नेतृत्वको पार्टी चलाए । २०७० को चुनावमा दुईवटा क्षेत्रबाट चुनाव लडेका उनले दुवै ठाउँबाट चुनाव हारे । चुनावको केही समयपछि विभिन्न ६ वटा दलहरु मिलेर राजपा नेपाल निर्माण भयो । राजपामा भण्डारी नेतृत्वको दल पनि समावेश भयो ।

उनी राजपाका अध्यक्ष मण्डलका सदस्य भए । २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा उनले महोत्तरी १ बाट चुनाव जितेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी १८ दिनका लागि उर्जा मन्त्री भएका थिए । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी पुनः सोही क्षेत्रबाट निर्वाचित भए । अहिले लोसपाबाट श्रममन्त्री बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७