मन्त्री र सचिवले सुराकीको नाममा गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय

‘कुनै कोणबाट पनि भ्रष्टाचार र अपराध सहन सकिँदैन’


१७ चैत्र २०७९, शुक्रबार
Narayankaji shrestha 2

काठमाडौं । नव नियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् ।

आज (शुक्रबार) गृहमन्त्रीको रुपमा पद बहाली गर्दै मन्त्री श्रेष्ठले पहिलो निर्णयको रुपमा गृहमन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका हुन् । उनले आफूले गरेको सो निर्णय पारित गर्नका लागि मन्त्रिपरिषदमा लैजाने बताए ।

Narayankaji shrestha 1

त्यसैगरी उनले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्नका लागि सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने पनि फाइलमा हस्ताक्षर गरेका छन् । सो फाइल पनि निर्णयका लागि मन्त्रिपरिषदमा पेस गर्ने जानकारी दिए । उनले मातहतका कर्मचारीहरुलाई समयको पालना गर्न निर्देशन दिए । समय पालनाको अवज्ञालाई छुट नदिने उनले बताएका छन् । मन्त्री श्रेष्ठले आफूलाई कुनै पनि प्रकारको चाकरी नगर्न र उपहार लिएर नआउन पनि उनले आग्रह गरे ।

यसअघि गत पुस ११ गते भौतिक पूर्वाधार मन्त्री बनेका नारायणकाजी १० वर्षपछि दोस्रो पटक गृहमन्त्री बनेका हुन् । दबाबमा परेर काम गर्नु नपर्ने बताउँदै संविधान, कानुन र जनतालाई हेरेर काम गर्न निर्देशन दिए ।

धनी पहुँचवाला प्रहरीका हाकिमकँहा सजिलै पुग्ने तर गरिब निमुखाका कुरा नसुन्ने कुराको अन्त्य हुनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । यस्तै भ्रष्टाचार र अपराध नियन्त्रणमा संकल्प गर्न पनि उनले निर्देशन दिएका छन् । ‘भ्रष्टाचार नगर्ने संकल्प गरौँ । पहिले गर्नु भएको छ भन्ने होइन नगरेको भए धेरै राम्रो । यसमा मेरो सबैभन्दा बढी चासो रहन्छ । घुमाएर, बाङ्गोटिङ्गो कोणबाट भ्रष्टाचार गरेको सहन सकिने छैन’, श्रेष्ठले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७