अशोक राई १९ वर्षपछि मन्त्री, शिक्षाको लगानी प्रतिफल बढाउने प्रतिवद्धता


१७ चैत्र २०७९, शुक्रबार
Ashok Rai 1 scaled

काठमाडौं । नव नियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे ।

उनले भने, ‘शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउने छौं ।’ मन्त्री राई गत मंसिर ४ को प्रतिनिधिसभा निर्वाचमा सुनसरी–१ बाट निर्वाचित भएका थिए । मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङ्बाट नेकपा (एमाले) पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०६० सालमा जनकपुरमा भएको सातौँ महाधिवेशनमा सर्वाधिक मतसहित एमालेको केन्द्रीय सदस्य बनेका अशोक राई २०६५ सालमा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनमा सर्वाधिक मतसहित उपाध्यक्ष जिते । त्यतिबेला उनी एमालेमा शक्तिशाली नेता मानिन्थे ।

तर एमालेमा आदिवासी जनजातिको अधिकार र पहिचान सुनिश्चित नभएको भन्दै उनले एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी नेपाल बनाएका थिए । यद्यपि उनले आफ्नो नेतृत्वको पार्टी पनि लामो समय टिकाउन सकेनन् र उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाएका थिए ।

शालिन, अनुशासित, भद्र र संगठन तथा विचारप्रति प्रतिवद्ध नेताको रुपमा परिचित अशोक राई जनता समाजवादी पार्टी नेपालबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र वन तथा मन्त्रालय सम्हाल्ने गरी सरकारमा सहभागी भएका छन् । जसपाका संघीय परिषद् अध्यक्ष राई सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा जितेका हुन् । नेकपा एमालेको समर्थनमा राईले १७ हजार ५९ मत ल्याएका थिए ।

एमालेमा हुँदा दुई पटक मन्त्री बनिसकेका उनी लामो समयपछि बल्ल मन्त्री बनेका हुन् । तेस्रो पटक मन्त्री हुन उनले १९ वर्ष कुर्नु पर्‍यो । उपेन्द्र यादवको पार्टीसँग एकीकरण गरेर संघीय समाजवादी फोरम पार्टी बनाएपछि उनी २०७४ को चुनावमा पराजित भएका थिए । धरानमा कम्युनिस्ट नेताको रुपमा परिचित अशोक राई त्यतिबेला पराजितमात्र भएनन्, मंसिर १४ मा भएको उपनिर्वाचनमा समाजवादी पार्टीको जमानत नै जफत भयो ।

२०७४ मा सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लडेका राईले प्रतिनिधिसभाको चुनावमा ७७ हजार ९० मतमध्ये २२ हजार १२३ मत ल्याएर दोस्रो स्थान हासिल गरेका थिए । उनलाई कांग्रेस पार्टीले पनि साथ दिएको थियो । २०७० को दोस्रो संविधानसभा चुनावको ६५ सिटमा संघीय समाजवादीले उम्मेदवारी दिए पनि प्रत्यक्षतर्फ एउटा पनि सिट जित्न सकेको थिएन । यद्यपि समानुपातिकबाट ५ वटा सिट ल्याउन सफल भएको थियो र उनी आफू पनि समानुपातिकबाट संविधानसभा सदस्य भएका थिए ।

उनको यस्तो लोकप्रियता थियो कि उनी आफ्नो राजनीतिक जीवनमा कहिल्यै पनि चुनाव हारेका थिएनन् । २०४८ र २०५१ सालमा खोटाङबाट उनी चुनाव जितेका थिए । २०५६ को चुनावमा उदयपुर झरेपछि प्रत्यक्ष चुनाव जित्नका लागि २४ वर्ष कुर्नु परेको थियो । २०३३ सालमा तत्कालीन कोअर्डिनेशन केन्द्रका नेता अमृत बोहराबाट पार्टी सदस्यता लिएर उनले राजनीतिक यात्रा सुरु गरेका थिए । २०५४ मा एमाले विभाजन हुँदा उनी मालेतर्फ गए । पछि २०५९ मा वामदेव गौतमसँगै उनी एमालेमा फर्केका थिए ।

२०४८ को निर्वाचनमा तत्कालीन पूर्वाञ्चलमा ओखलढुंगा र सोलुखुम्बु बाहेक अन्यत्र एमालेले सानदार नतिजा ल्याएपछि उनको कामबाट तत्कालीन महासचिव मदन भण्डारी समेत प्रभावित थिए । राई विचारमा भने अडान राख्ने नेता हुन् । २०४९ को पाँचौँ महाधिवेशनमा उनै भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको पक्षमा उनी गएनन् । उनी सीपी मैनालीले अघि सारेको परिमार्जित नौलो जनवादको पक्षमा उभिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७