भक्तपुरमा आफ्नै बाबुबाट १४ वर्षीया छोरी गर्भवती


१८ चैत्र २०७९, शनिबार
Rape
सांकेतिक तस्वीर

भक्तपुर । भक्तपुरमा महोत्तरीको बर्दिबास घर भएकी एक किशोरी आफ्नै बुबाको बलात्कारबाट गर्भवती भएको घटना बाहिरिएको छ ।

बर्दिबास–११ खयरमारा घर भई हाल भक्तपुरको ठिमी बस्दै आएका ३४ वर्षीय एक व्यक्तिले आफ्नै १४ वर्षीया छोरीलाई पटक–पटक करणी गरेर गर्भवती बनाएको खुलेको हो । परिवारका सबै सदस्यसँग ठिमी बस्दै आएका ती पुरुषले श्रीमतीको आँखा छलेर छोरीमाथि बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलिप गिरीले जानकारी दिएका छन् । घटना भक्तपुरबाट महोत्तरी गएका बेला खुलेको हो । आमा नभएको मौकामा बाबुले आफूलाई पटक–पटक बलात्कार गर्दै आएको बयान किशोरीले प्रहरीलाई दिएकी छन् ।

केही महिनादेखि परिवारसहित भक्तपुरको ठिमीमा बस्दै आएका ती पुरुष नजिकैको इँटा भट्टामा काम गर्थे । आमा छोरी महोत्तरी घर आएको बेला घटना बाहिरिएको गिरीले जानकारी दिए । शुक्रबार बर्दिबास अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गर्दा उनको पेटमा तीन महिना बढीको गर्भ रहेको खुलेको पाइएको डीएसपी गिरीले जानकारी दिए । उनले भने, ‘किशोरीले गर्भ आफ्नै बुवाको रहेको बताएकी छन् । घटना भक्तपुर ठिमीमा भएकाले यसको सबै अनुसन्धान अब भक्तपुर प्रहरीले नै गर्नेछ । हामीले प्रारम्भिक अनुसन्धान मात्र गरेका छौँ’, उनले भने ।

पीडित किशोरी अहिले आमासँगै बर्दिबासमा छिन् । किशोरीकी आमाले दोषीलाई पक्राउ गरी कारबाही गर्न इलाका प्रहरी कार्यालय बर्दिबासमा उजुरी दिएकी छन् । किशोरीकी आमाले छोरी गर्भवती भएको तीन दिन अगाडि मात्र थाहा पाएको बताएकी छन् ।

डीएसपी गिरी स्वास्थ्य परीक्षणमा किशोरीको पेटको गर्भ पतन गर्न सक्ने अवस्थामा रहेको जानकारी दिएका छन् । पीडित किशोरीकी आमाका अनुसार विगत तीन महिनादेखि रजश्वला नभएपछि शंका लागेर छोरीलाई सोधीखोजी गर्दा आफूमाथि बुवाले पटक–पटक बलात्कार गरेको बताएकी हुन् ।

पीडित किशोरी परिवारकी जेठी छोरी रहेको र उनी स्कुल नजाने गरेको प्रहरीले बताएको छ । उनका एक भाइ र एक बहिनी छन् । गएको कात्तिकमा आफूलाई बुवाले पहिलो पटक आमा नभएको बेला बलात्कार गरेको बयान किशोरीले दिएकी छन् । करणीको विषयमा कसैलाई जानकारी गराए परिवारका सबै सदस्यलाई मारिदिने धम्की बुवाले दिएकाले आफूले लामो समयदेखि घटना लुकाएर राखेको किशोरीले बयानमा बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७