कोरियाली प्रायद्वीपलाई आणविक युद्धतर्फ धकेलेको उत्तर कोरियाको आरोप


२३ चैत्र २०७९, बिहीबार
6244f7763c4642788f9dd51131a8b4ad 6244f7763c4642788f9dd51131a8b4ad 03cb6743a9ac46b1bbed5826a4663000

सोल । कोरियाली प्रायद्वीपलाई अमेरिका र दक्षिण कोरियाले आणविक युद्धतर्फ धकेलेको आरोप उत्तर कोरियाले लगाएको छ । अमेरिका र दक्षिण कोरियाले गरेका संयुक्त सैन्य अभ्यासलाई लिएर प्योङयाङले उक्त आरोप लगाएको हो । संयुक्त सैन्य अभ्यास कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वका निम्ति जोखिमपूर्ण भएको र त्यसले आणविक युद्ध निम्त्याउन खोजेको सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले जनाएको छ ।

अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषक चो जु ह्योनले संयुक्त सैन्य अभ्यासले प्रायद्वीपको स्थितिलाई विष्फोटक बनाउने प्रयास गरेको केसीएनएलाई बताएका छन् । उत्तर कोरियाले पनि आक्रमक कारबाही गर्नसक्ने चेतावनी उनले दिएका छन् । अमेरिका र उसका सहयोगीहरूले सैन्य उन्माद प्रस्तुत गरेर कोरियाली प्रायद्वीपको शान्ति र स्थायित्वमाथि खेलवाड गरेको आरोप उनले लगाएका छन् ।

पाँच वर्षको अन्तरालमा हालै अमेरिका र दक्षिण कोरियाले गरेका विशाल संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले आफूमाथिको आक्रमणको पूर्वाभ्यास भन्दै त्यसको कठोर शब्दमा निन्दा गर्दै आएको छ । संयुक्त सैन्य अभ्यासको विरोधमा उत्तरले पनि शृङ्खलाबद्ध रूपमा साना–ठूला क्षेप्यास्त्रको परीक्षण जारी राख्यो । गत वर्ष ७० वटाभन्दा बढी क्षेप्यास्त्र परीक्षण गरेको प्योङयाङले यो वर्ष विभिन्न दश वटा परीक्षण कार्यक्रमअन्तर्गत कम्तीमा २० पटक ‘ब्यालेस्टिक’ र ‘क्रुज मिसाइल’ परीक्षण गरिसकेको छ ।

बारम्बार छोटो तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तर कोरियाले निरन्तर गरेका परीक्षणबाट टोकियो, सोल र वासिङ्टनबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उनीहरूको तर्क छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले यो महिनाको प्रारम्भमा वास्तविक युद्धका लागि तयारी गर्न तथा सैन्य अभ्यास तीव्र तुल्याउन सम्बद्ध निकायलाई निर्देशन दिए । उत्तर कोरियाले आफ्नो शक्तिशाली क्षेप्यास्त्र भने आजसम्म प्रक्षेपण गरेको छैन । आफूलाई अपरिवर्तनीय आणविक शक्ति घोषणा गरेको उसले क्षेप्यास्त्र परीक्षणलाई आफ्नो अधिकार एवम् प्राथमिकता भन्दै आएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७