निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल


०७:०३ बजे

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा उहाँले महासङ्घले पनि कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको र त्यसमा एक सयभन्दा बढी सहकारी संलग्न रहेको बताए । उनले निजी क्षेत्र र सहकारीबीच लगानी सहकार्यका लागि बाधा अड्चनका रूपमा रहेका ऐन–नियमलाई फुकुवा गर्नुपर्ने धारणा राखे ।

सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको ढकालको भनाइ छ । महासम्मेलनको तेस्रो दिन आज ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा बोल्ने अधिकांश वक्ताले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरेको भए पनि अब सहकारीलाई पनि संलग्न गराउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने भनाइ राखे । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताउँदै अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताए ।

सहकारीको दिगोपनाका लागि स्वनियम तथा सुशासन कायम गर्ने मुख्य उद्देश्यले बिहीबारदेखि आजसम्म सञ्चालित सहकारी महासम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा सरकारका प्रतिनिधि, जनप्रतिनिधि, सातै प्रदेशका सहकारीकर्मी, निजी क्षेत्रका प्रतिनिधि, गैरसरकारी सङ्घ, विश्वविद्यालयका प्राध्यापक र अन्तर्राष्ट्रिय सहकारी अभियान्ताको गरी करिब एक हजार जनाको सहभागिता थियो । सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था, वर्तमान समस्या र चुनौतीको विषयमा छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७