दुई करोड प्रकरणको कोर टिम को हो ? छानबिन गर्न संसदीय समिति गठन होस् : सांसद गुरुङ


२०७९ चैत २७ सोमबार ०७:४८ बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन दुई करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेस उपसभापति समेत रहेका सांसद धनराज गुरुङले माग गरेका छन् ।

आज (सोमबार) को प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर सांसद गुरुङले ‘कोर टिम को हो ?’ भन्नेबारे छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले सभामुख देवराज घिमिरेसँग संसदीय समिति गठन गर्नका लागि माग गरेका हुन् ।

‘प्रतिनिधिसभा सदस्य भइसकेकाहरूले मन्त्री बन्नका लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?,’ उनले भने, ‘अनि सुन्छु दूधको साक्षी बिरालो बसेको । त्यो वार्तामा भनिएको छ कोर टिमलाई बुझाउनु पर्छ । त्यो कोर टिम भनेको को हो ? त्यसको पनि छानबिन गर्नुपर्दैन ? त्यसकारण यसको छानबिनका लागि प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापका सन्दर्भमा, भ्रष्टाचार, कमिसनको सन्दर्भमा यो संसद् चुप लागेर बस्न सक्दैन । आजकै दिनमा यही बैठकबाट संसदीय मिति बनाएर निष्पक्ष समिति बनाएर छानबिन गर्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले नै श्रेष्ठको घुस प्रकरणको छानबिन गर्ने भनेर उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद्मा भनेको विषयमा पनि गुरुङले कटाक्ष गरेका थिए । उनले घूस प्रकरणमा पार्टीले नै छानबिन गर्न लागेको भनेर कटाक्ष गरेका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७