नाबालिका दिदी–बहिनीको हत्यामा संलग्न दुई नाबालिका पक्राउ


२८ चैत्र २०७९, मंगलवार
hatya
हत्या गरिएका ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगर

रुकुम (पूर्व) । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा मृत भेटिएका दुई नाबालिका दिदी–बहिनीको हत्यामा संलग्न दुई जना नाबालिका पक्राउ परेका छन् ।

तारामान बुढाका नाबालिका छोरी ११ वर्षकी रिना बुढामगर र नौ वर्षकी कालिमाया बुढामगरको हत्यामा संलग्न सोही ठाउँका दुई नाबालिका पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) की प्रहरी नायब उपरीक्षक (डिएसपी) अञ्जना श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार रिना र कालिमाया चैत्रको २२ गते सिस्नो टिप्न भनी सोही ठाउँको सेराबाङ भन्ने ठाउँमा गएका थिए । राति अबेरसम्म घर नफर्किएपछि परिवार र आफन्तले खोज तलास गर्दा पनि उनीहरु भेटिएका थिएनन् । २३ गते बिहानै खोज तलास गर्दा उनीहरुको ध्याङरजुङ भीरमा शव फेला परेको थियो । शव फेला परेपछि तालिम प्राप्त कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा सात जनालाई प्रहरीले नियन्त्रणमा ल्याएको थियो ।

उनीहरुको बयानको आधारमा पाँच जनालाई छोडिएको छ भने हत्यामा संलग्न दुई नाबालिकालाई पक्राउ गरी अनुसन्धान जारी राखिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताइन् । ती दुई नाबालिकालाई २६ गते रुकुमकोट जिल्ला अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप भई अनुसन्धान कार्य जारी राखिएको छ ।

रिना र कालिमायालाई उनीहरुले लगाएको गहनाको कारण हत्या गरेको बयान पक्राउ परेका नाबालिकाले दिएका छन् । उनीहरुले लगाएको गहना लुटेर जङ्गलमा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो । रिना र कालिमाया दुई दिदीबहिनीको शवलाई रुकुमकोट ल्याएर शनिबार शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइ सकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७