५० करोड डलर क्षतिपूर्ति माग्दै ट्रम्पले हाले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा


२०७९ चैत ३० बिहीबार ०७:१३ बजे

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन् । पूर्व वकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले ५० करोड डलर क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका हुन् ।

बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको मुद्दामा कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र मिडियामार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाइएको छ । एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्रहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप उनले लगाएका छन् ।
वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धबारे चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधीन छ ।

कोहेनले ‘डिसलोयलः अ मेमोयर’ नामक आफ्नो पुस्तकमा ट्रम्प नश्लवादी नेता भएको आरोप लगाएका थिए । उक्त पुस्तकमार्फत उनले ट्रम्पका कतिपय गोप्य विवरण पनि सार्वजनिक गरेका थिए । मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन् । बीबीसीसँगको संवादमा उनले भनेका छन्, ‘कोहेन विचलित हुने छैनन्, तथ्य र कानूनमाथि हामीलाई विश्वास छ, मुद्दा असफल हुनेछ,’ उनले भनेका छन् ।

कोहेनले दशकभन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । उनी ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो । तर सन् २०१६ को निर्वाचनपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो । सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो ।

सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक बनेका थिए । उनले ट्रम्पविरुद्ध आफ्नो पुस्तकमा पनि लेखेका छन् । ट्रम्पको आलोचकका रूपमा धेरै अन्तर्वार्तामा पनि उनलाई अतिथि बनाएर बोलाइएको छ । कोहेनले पुस्तक र मिडियामार्फत आफूविरुद्ध झूटा कुराहरू प्रचार गरेको आरोप लगाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७