एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार बैरागी काइँलालाई प्रदान गरिने


१ बैशाख २०८०, शुक्रबार
Bairagi kaila

काठमाडौं । नेपाली लेखक सङ्घद्वारा प्रदान गर्न लागिएको रु एक लाख राशिको राष्ट्रिय लेखक पुरस्कार वरिष्ठ कवि एवं संस्कृतिविद् बैरागी काइँलालाई प्रदान गरिने भएको छ ।

सङ्घको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय लेखक दिवसको अवसर पारेर वरिष्ठ कवि एवं संस्कृतिविद् काइँलालाई रु एक लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय गरेको सङ्घका सचिव अनुपमा रेग्मीले जानकारी दिनुभयो । उक्त पुरस्कार आगामी वैशाख १६ गते राष्ट्रिय लेखक दिवसको अवसर पारेर प्रदान गर्ने निर्णय भएको रेग्मीले बताए । सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विभिन्न दिवस मनाउँदै आइरहेको सन्दर्भमा नेपालमा राष्ट्रिय लेखक दिवस पनि मनाउने निर्णय गरेअनुसार वैशाख १६ गते सोही दिवस मनाउने निर्णय गरेको हो ।

विसं १९८७ मा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले त्यतिबेलाका ४५ कवि, लेखक एवं वुद्धिजीवीले हस्ताक्षर गरी श्री ३ भीमशमशेर समक्ष निवेदन पेश गर्दा श्री ३ को निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाइ दण्डित गरेको दिन वैशाख १६ लाई राष्ट्रिय लेखक दिवस मनाउन लागिएको हो । उक्त दिनलाई नेपालको इतिहासमा ‘लाईब्रेरी पर्व’ को रुपमा लिइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७