‘टीआरसी’ बारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक


४ बैशाख २०८०, सोमबार
5 party

काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी मुद्दाको विषयमा छलफल गर्न सत्तारुढ पाँच दलको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् ।

संसदमा विचाराधीन टीआरसीसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकमा चालू अधिवेशनबाटै पारित गराउने विषयमा छलफल केन्द्रित रहने बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले टीआरसीकै विषयमा छलफल गर्न आजै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टीआरसी र संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल गरेका थिए । सो भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए । सोमबार बिहान बालकोटमा भएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संक्रमणकालीन न्याय निरुपणसम्बन्धी कानुन बनाउँदा अन्तर्राष्ट्रिय मापदण्डबाट दायाँबायाँ हुन नहुने अडान लिएको थियो ।

बालकोटमा बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा एमालेले टीआरीससम्बन्धी विधेयकमाथि संसदीय समितिमा पहिले छलफल गरिनुपर्ने पनि एमालेको शर्त थियो । बालकोट बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बस्ने सहमति तीन दलले गरेका थिए।टीआरसीका विषयमा एउटै रणनीति बनाएर अगाडि बढ्नका लागि प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दलका नेताहरूसँग छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७