एमाले अध्यक्ष ओलीको चुनौती : ‘कोशी’ नाम खारेज हुन्न, दुई तिहाइ ल्याएर संशोधन गर


१६ बैशाख २०८०, शनिबार
kp oli 4

पाँचथर । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उफ्रेको भरमा ‘कोशी’ नाम फिर्ता नहुने चेतावनी दिएका छन् । तीन दिनदेखि पाँचथरमा रहेका ओलीले शनिबार सदरमुकाम फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘दुई–चार जना केटा सडकमा उफ्रँदैमा प्रदेशको नामकरण हुँदैन, सक्छौं भने जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गरेर देखाओ,’ अध्यक्ष ओलीले भने । प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने भन्दै ओलीले आन्दोलन छोडेर विकास निर्माणमा जुट्न पहिचान पक्षधरलाई सुझाव दिए ।

अध्यक्ष ओलीले एमालेविरुद्व चौतर्फी षड्यन्त्र र घेराबन्दी भइरहे पनि यसले पार्टीलाई कुनै क्षति नगर्ने दाबी गरे । कांग्रेस र माओवादी गठबन्धनको सरकार धरापमा रहेकाले यसको विरोध गर्नुको औचित्य नहुने उनको दाबी थियो । ‘कांग्रेसको कुनै आकार प्रकार र स्वरुप छैन, पछिल्लो चार दिनयता आफूविरुद्व कालो झण्डा देखाउने अधिकांश माओवादीका कार्यकर्ता रहेको बुझिएको छ, विरोधले कुनै अर्थ राख्दैन’ उनले भने । यसअघि जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीविरुद्व पहिचान पक्षधरले नाराबाजी गर्दै कालो झण्डा देखाएका थिए ।

उनीहरुले झापाको बुधबारे, इलाम,पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा ओलीलाई कालो झन्डा देखाँउदै विरोध गरेका छन् ।
एमाले अध्यक्ष ओलीकै जोडबलमा प्रदेश १ लाई जबरस्त ‘कोशी’ नामकरण गरिएको भन्दै पहिचान पक्षधर एमालेविरुद्व आक्रोशित भएका छन् । शुक्रबार मध्यान्न जन्मथलोमा निर्मित बहु प्राविधिक शिक्षालयको उद्घाटन गर्न पुगेका ओलीविरुद्व पहिचान पक्षधरहरुले केपी ओलीलाई अवरोध सिर्जना गर्न खोजेका थिए । विरोधका बाबजुद ओलीले सुरक्षा घेराभित्रबाटै प्राविधिक शिक्षालयको भवन उद्घाटन र आठराई गाउँपालिकामा सञ्चालन हुन लागेको तमोर लिफ्ट खानेपानी आयोजनाको शिलान्यास गरे ।

विरोधसभाको नेतृत्व गरिरहेका संघीय लोकतान्त्रिक मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले एमाले, कांग्रेस र माओवादीले जबर्जस्त कोशी नाम राखेर पहिचान पक्षधरलाई उपेक्षा गरेकाले आन्दोलमा उत्रेको बताए । पहिचान पक्षधरको आन्दोलन कुनै दल विशेष नभएको पनि लिङ्देनले स्पष्ट पारे । पहिचान पक्षधरहरुले ओली पाँचथर सदरमुकाम फिदिम आइपुग्दा मसाल जुलुस निकालेर विरोध जनाएका छन् । जुलुसमा सैयौंको उपस्थिति थियो ।

ओली पार्टीको कार्यक्रममा सम्बोधन गरिरहँदा पहिचान पक्षधरहरुले सदरमुकामका विभिन्न स्थानमा छरिएर उनको विरोध गरिरहेका छन् । आजै झापा फर्किने तयारीमा रहेका ओलीलाई आज पनि कालो झन्डा देखाइने प्रदेश १ पुनः नामकरण संघर्ष समितिका मधु केरुङले जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७