बार्सिलोनाको सहज जितमा कान्छा खेलाडी यामलको कीर्तिमान


१७ बैशाख २०८०, आईतवार
yamal

काठमाडौं । १५ वर्षीय लामिन यामाल बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन् । शनिबारको स्पानिस ला लिगाको यसै खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० ले पराजित गरेको छ ।

यस जितपछि बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि ११ अंकको अग्रता कायम नै राखेको छ । त्यसअघि करिम बेन्जेमाको ह्याट्रिकमा रियलले अल्मेरियालाई ४–२ ले पराजित गरेको थियो । बार्सा एकेडेमी प्रडक्ट यामाल ८४औं मिनेटमा गावीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए । यसअघि बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरको कीर्तिमान अंशु फातीको नाममा थियो ।

यस्तै यामाल ला लिगामा डेब्यु गर्ने पाँचौ कम उमेरका खेलाडी बने । ला लिगा खेल्ने सबैभन्दा कम उमेरको खेलाडी भने लुका रोमेरो हन् । उनले १५ वर्ष २१९ दिनको हुँदा २०२० मा रियल मड्रिडविरुद्ध डेब्यु गरेका थिए । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं, रोबर्ट लेवान्डोस्कीले ३६औं र राफिन्हाले ३९औं मिनेटमा गोल गरे ।

बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा आत्मघाती गोल उपहार दिए । बेटिसका एडगर गोन्जालेज ३३औं मिनेटमा रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए । जितपछि बार्सिलोनाको ८२ खेलबाट ७९ अंक छ । अब लिगमा ६ चरणको खेल बाँकी हुँदा बार्सिलोनाले ३ खेल जितेमा उपाधि जित्नेछ ।

बेन्जेमाको ह्याट्रिक

करिम बेन्जेमाको ह्याट्रिक मदतमा रियल मड्रिडले अल्मेरियालाई ४–२ ले हरायो । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बेन्जेमा पहिलो हाफमै ह्याट्रिक गरेका थिए । र, खेलको पाँचौ मिनेटमै गोलको खाता खोलेका बेन्जेमाले १७औं मिनेटमा अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । रोड्रिगोले ४७औं मिनेटमा एक गोल थपे । अल्मेरियाका लागि भिनिसियस मार्कुएसले पहिलो हाफको इन्जुरी टाइममा र लुकास रोबर्टोनले ६१औं मिनेटमा गोल गरे । जितपछि दोस्रो स्थानको रियलको ३२ खेलबाट ६६ अंक छ । रियल लिग लिडर बार्सिलोनाभन्दा ११ अंकले पछि छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७