कार्यवाहक राष्ट्रपतिसँग सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता


२०८० बैशाख १७ आइतबार ०७:३६ बजे

काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन् । सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिना कार्यवाहक राष्ट्रपतिलाई भेट्न उपराष्ट्रपतिको कार्यालय लैनचौर पुगेका थिए ।

कार्यवाहक राष्ट्रपति यादवसँग सभामुख र अध्यक्षले समसामयिक विषयमा छलफल गरेको बताइएको छ । मुख्यतः प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभाको सचिव नियुक्तिको विषयमा छलफल भएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँलको कार्यकाल वैशाख १५ मा सकिएको थियो । दुवैको कार्यकाल सकिएपछि सभामुख र अध्यक्षले नयाँ सचिव नियुक्तिका विषयमा छलफल गरेका हुन् । सभामुखको सिफारिसमा प्रतिनिधिसभा सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभा सचिव राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना आइतबार साँझ कम्बोडिया जाने कार्यक्रम रहेकाले त्यसपहिले नै सचिव नियुक्तिको सिफारिस हुन लागेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य उपचार गराउन भारतको दिल्लीमा रहेकाले कार्यवाहक राष्ट्रपतिको रूपमा उपराष्ट्रपति यादवले काम गरिरहेका छन् । राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७