कस्तो छ ‘नाइँ नभन्नु ल ६’ ?


१८ बैशाख २०८०, सोमबार
nai nabhannu la

काठमाडौँ । नेपाली चलचित्रमा शृङ्खलाको सुरुआत गरेर सफल भएको उदाहरण हो– ‘नाइँ नभन्नु ल’ । पहिलो शृङ्खला बनेको चार वर्षपछि दर्शकसामु आएको दोस्रो शृङ्खला सफल भयो । बालकलाकारमा अनुभव रेग्मी र गायनमा प्रेम परियार पनि स्थापित भए ।

त्यसपछि यसको शृङ्खला बन्ने क्रम अगाडि बढ्दै गयो । यसकै छैटौँ श्रृङ्खला गत वैशाख १ गतेदेखि प्रदर्शनरत छ । बालप्रेममा केन्द्रित रहने विषयवस्तुलाई यस पटक वयस्कमा पुर्‍याइएको छ । तर, शृङ्खला अगाडि बढ्दै गर्दा निर्देशक विकासराज आचार्यले कमजोरी रहेको बताए ।

गीत सङ्गीतमार्फत सफल बनिरहेको ‘नाइँ नभन्नु ल’ को छैटौँ शृङ्खलाको गीत दर्शकलाई याद छैन । त्यसको प्रभाव चलचित्र भवनमा देखिएको छ। चलचित्र भवनमा न्यून ‘सो’ पाएको चलचित्रको व्यापार पनि उस्तै छ । गीत–सङ्गीत र कथाले दर्शकलाई आकर्षित गर्न सकेको छैन । भुल्ने रोग (एमेनेसिया) लाई आधार बनाएर तयार गरिएको चलचित्र ऋतु (आँचल शर्मा) को वरपर घुमेको छ । प्रेम सम्बन्धका लागि शिशिर (आशीर्वाद क्षत्री) ले गरेको त्याग, तपस्या र द्वन्द्व नै मुख्य कथा हो । ऋतुसँग शिशिरको भेट हुनु दुईबीच मायाप्रेम गाँसिनु र एउटा सानो दुर्घटनाका कारण सिर्जना हुने उतारचढाव नै विषयवस्तु हो ।

भुल्ने रोगका कारण ऋतुले आफ्नो सबै वर्तमान भुलेर विगतमा फर्कंदै जाँदा शिशिरसँगको प्रेम के होला? यही जिज्ञासालाई कथामार्फत मेटाउन खोजिएको छ । घिसिपिटी पुरानै शैलीको प्रस्तुतिले दर्शकलाई चलचित्र भवनमा आनन्दित पार्दैन। निर्देशक आचार्यले चलचित्रको पटकथा पत्रकार सामीप्यराज तिमल्सेना र अरुणदेव जोशीसँगको सहकार्यमा तयार पारेका हुन् ।

चलचित्रमा बाल कलाकार एविलिना खड्का, अथर्व लुइँटेल उप्रेती, आयुष गुरागाईं, योगिशा खत्री, एन्जेल राई र अनुभव रेग्मीले अभिनय गरेका छन्। यसमा कलाकार केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाललाई केवल पारिवारिक चरित्रका रूपमा मात्र चित्रण गरिएको छ ।

यो चलचित्र प्रदर्शन भएसँगै निर्देशक आचार्यले सातौँ शृङ्खला बन्ने सङ्केत गरेका छन् । उनले चलचित्रको अन्त्यमा अभिनेत्री स्वस्तिमा खड्कामार्फत कथा अगाडि बढ्ने दृश्य राखेका छन् । ‘दर्शकको रुचिअनुसार नै सातौँ शृङ्खलाको काम अगाडि बढ्ने छ । अहिले प्रदर्शनरत चलचित्रको प्रतिक्रिया हाम्रा लागि मार्गनिर्देश हुनेछ’, निर्देशक आचार्यले भने । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७