पोर्चुगलको समुन्द्री छालमा परी एक नेपाली युवक बेपत्ता


१८ बैशाख २०८०, सोमबार
Beach in the Algarve 580x345 1
सांकेतिक तस्वीर

काठमाडौं । पोर्चुगलको तोरेस भेद्रासस्थित समुन्द्री किनारबाट एक नेपाली युवा बेपत्ता भएका छन् । समुन्द्रको छालमा परी अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका–६, खिल्जीका २५ वर्षीय भुपाल दमासे बेपत्ता भएका हुन् ।

बुधबार दिउँसो तोरेस भेद्रासस्थित सान्तारिता समुन्द्री किनारबाट दमासे एक्कासी बेपत्ता भएको सँगै गएका उनका साथी कुशल सुवेदीले जानकारी दिए । ‘हामी तीन जना समुन्द्री किनारमा बस्ने भनेर गएका थियौँ । मैले र अर्को एक जना साथीले बस्ने ठाउँ मिलाउँदै थियौँ । एक्कासी एक जना पोर्चुगिज नागरिकले तिमीहरुको साथी समुन्द्रको छालमा पर्‍यो भन्दै चिच्याए’, घटना सुनाउँदै सुवेदीले भने, ‘हामीले समुन्द्रमा हेर्दा भुपाललाई कतै देखेनौँ, किनारमा उसको चप्पल मात्रै देख्यौँ । त्यसपछि उद्धारका लागि तत्काल प्रहरीलाई खबर गर्‍यौँ ।’

उनी समुन्द्रमा बेपत्ता भएको विषयमा उनका परिवारलाई जानकारी गराइएको दमासेका आफन्त पर्बता पन्थले बताए । उनको खोजबिन गर्न र घटनाको सत्यतथ्य पत्ता लगाउन लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली सङ्घ पोर्चुगललाई आग्रह गरिएको पन्थले बताए ।

बेपत्ता भएका दमासेको समुद्रमा खोजी भइरहेको र हालसम्म नभेटिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रबिन अधिकारीले जानकारी दिए । दमासे वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष अगाडि पोर्चुगल आएका थिए । उनी तोरेस भेद्रासस्थित एक कृषि कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७