सडक भासिएर बन्द पृथ्वी राजमार्ग १८ घण्टापछि एकतर्फी खुल्यो


१९ बैशाख २०८०, मंगलवार
Dhading road 1 1200x560 1

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर बन्द भएको सडक १८ घण्टापछि एकतर्फी खुलेको छ ।

धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सीमाना जोड्ने गणेश खोला पुल नजिक सडक भासिएपछि सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो । भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले रातभरी पनि काम गरेका थिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सवारी जाम हटाउन हम्मेहम्मे परेको छ । पूर्व पश्चिमका जिल्लाबाट रातिको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।

पूर्व पश्चिमबाट राजधानी काठमाडौ आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेसी, आदमघाटलगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ । बाटो एकतर्फी खुलाइए पनि तत्काल सहजै बाटो पास गर्न कठिन छ । सयौं सवारीहरू सडकमा रोकिएकाले ती गाडीहरू पार गराउन अझै केही घण्टा लाग्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७