कोसी अस्पतालमा जन्मिए छाती जोडिएका जुम्ल्याहा


२६ बैशाख २०८०, मंगलवार
Jumlyaha

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरस्थित कोसी अस्पतालमा शरीर (छाती) जोडिएका शिशु जन्मिएका छन् ।
सप्तरीको कल्याणपुर घर भएकी ३७ वर्षीया दुखनीदेवी भगतले शरीरको अघिल्लो भाग जोडिएका जुम्ल्याहा सन्तानलाई जन्म दिएको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।

नवजात शिशुको तौल साढे तीन केजी छ । शिशुको छाती जोडिएको छ । टाउको, पेटदेखि मुनिको भाग भने अलग छन् । दुवै शिशुको टाउको, आँखा, नाक, मुख, कान, हातखुट्टा जोडिएका छैनन् । सुत्केरी व्यथाले च्यापेपछि भगतलाई छिमेकी राधादेवी मण्डलले कोसी अस्पताल ल्याएकी थिइन् । भगतका श्रीमान मिठाइ बनाउने काम गर्ने आनन्द भगत चौधरी सिरहाको लहानमा डेरा गरी बस्छन् । भगतको घरमा दुई सन्तान छन् । शरीर जोडिएको शिशु जन्म दिएपछि उनलाई चिकित्सकको निगरानीमा प्रसूति वार्डमा राखेर अस्पतालले नै उपचार गरिरहेको कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहले जानकारी दिए ।

Bhagat1683632934

सिंहका अनुसार शल्यक्रियामार्फत प्रसूति गराएर शरीर जोडिएका जुम्ल्याहा बच्चा जन्माइएको थियो । पाँच दिन भइसक्दा समेत परिवारका सदस्य र आफन्त सम्पर्कमा नआएको डा. सिंहले बताए । ‘अस्पतालमा प्रसूति गराउन ल्याइदिने महिलाले पनि छाडेर फर्किएको पाइयो’, उनले भने । अस्पतालले आफ्नै खर्चबाट सुत्केरी र जुम्ल्याहा शिशुको हेरचाह, स्याहार एवं उपचार गरिरहेको सिंहले सुनाए ।

यही वैशाख २१ गते बिहीबार बिहान ११ बजे भगत अस्पतालमा भर्ना भएकी थिइन् । कोसी अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. अन्जु देवको नेतृत्वमा डा. मधुमीता राभा, डा. प्रकृति आचार्य र एनेस्थेसिया डा. राजकुमार यादवसहितको चिकित्सक टोलीले शल्यक्रिया गरी शिशु निकालेका थिए ।

डा. देवका अनुसार भिडियो एक्स–रे गर्दा गर्भमै शरीर जोडिएका शिशु रहेको देखिएको थियो । शरीर जोडिएको जुम्ल्याहा जन्मनुलाई चिकित्सकीय भाषामा ‘कन्जोइन्ट ट्वीन्स’ भनिन्छ । एउटा भ्रुण आधाआधा भइ दिएमा दुईवटा बच्चा जन्मिने सम्भावना हुने र त्यो अलग वा जोडिएर समेत जन्मन सक्ने उनले बताइन् । भनिन्, ‘कोसी अस्पतालमा शरीर जोडिएका शिशु अलग गर्ने सुविधा छैन । धेरै परीक्षण गरेर मात्र शरीरको भित्री अंगको अवस्था हेरेर मात्र अलग गर्न सकिन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७